कोसीका सात जिल्ला बाढीपहिरोको उच्च जोखिममा

शुक्रबार, १ असार, २०८०
डिजिटल संस्करण
कोसीका सात जिल्ला बाढीपहिरोको उच्च जोखिममा

तस्बिर : नयाँ पत्रिका अर्काइभ

कोसी प्रदेश सरकारले प्रदेशअन्तर्गतका सात जिल्ला बाढी र पहिरोको उच्च जोखिममा रहेको बताएको छ । 

प्रदेश सरकारले यस वर्ष बाढीपहिरोबाट ६८ हजार नौ सय ११ घरधुरीका तीन लाख एक हजार एक सय ४३ जनसंख्या प्रभावित हुनेसमेत अनुमान गरेको छ ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, ०८० अनुसार कोसी प्रदेशमा झापा, मोरङ, सुनसरी, उदयपुर बाढी र खोलुखुम्बु, ताप्लेजुङ र तेह्रथुम पहिरोको उच्च जोखिममा रहेको देखिएको प्रदेश विपत् व्यवस्थापन परिषद्को भनाइ छ । 

जल तथा मौसम विभागले यस वर्ष कम वर्षा हुने प्रक्षेपण गरे पनि मनसुन विपत् जोखिमको प्रभावकारी प्रतिकार्यका लागि सुरक्षा निकाय, सहयोगी निकायसँगको छलफल, उद्धार तथा राहतका लागि आवश्यक सामग्रीको तयारी भइरहेको परिषद्ले जनाएको छ ।

कोसी प्रदेशमा १० वर्षमा तीन सय ७७ वटा बाढीको घटनामा एक सय २४ जनाको मृत्यु भएको छ । विगत ०६९ सालदेखि ०७९ सम्ममा २१ जना घाइते र ६६ जना बेपत्ता भएको विपत् पोर्टलमा उल्लेख छ ।

झापाका १५ पालिकामध्ये भद्रपुर, अर्जुनधारा, मेचीनगर, कन्काई, शिवसताक्षी, दमक, गौरादह, झापा, बाह्रदशी, कचनकवल, गौरीगन्ज र कमल पालिका बाढीको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताए । रासस

सुझावित समाचार