बजारमा होलबडी चेकजाँचका लागि विभिन्न ल्याबहरू खुलेका छन् । सामाजिक सञ्जालमा विभिन्न छुट तथा कतिपयले निःशुल्क भनेरसमेत प्रचार गरिरहेका छन् । तर, यस्ता विज्ञापनबाट सचेत रहन आवश्यक छ । कुनै समस्या छ भने पहिले घरपरिवारका सदस्यलाई भन्नुपर्छ । त्यसपछि चिकित्सकसँग सल्लाह लिनुपर्छ । आफूखुसी रगत जाँच कहिल्यै पनि गराउनुहुँदैन । चिकित्सकको परामर्शविना नै जाँच गर्दा उल्टै समस्यामा पर्न सकिन्छ ।
विश्वसनीयता
कतिपय मानिस आफूखुसी ल्याबमा गएर होलबडी चेक गराउँछन् । कुनै समस्या नदेखिँदा निरोगी छु, चिकित्सकलाई देखाउन आवश्यक छैन भनेर बस्छन् । ती व्यक्तिमा पछि गएर समस्या देखिन पनि सक्छ ।
कतिपय मानिसले तीन–तीन महिनामा आफैँ चेकजाँच गराइरहेका हुन्छन् । एउटै समस्या पटक–पटक यसरी जाँच्न आवश्यक पनि छैन । कतिपय व्यक्तिले आफूखुसी रगत परीक्षण गरेपछि त्यसको रिपोर्ट पनि गुगलमा आएर आफैँ हेर्न थाल्छन् । इन्टरनेटमा लेखिएका सामग्री पढेपछि विभिन्न रोगको शंका गर्न र आत्तिन थाल्छन्, मानसिक प्रताडनामा रहन्छन् । कतिपयको भिडियो एक्सरे गर्दा माइल्ड फ्याटी लिभर भनिदिएको हुन्छ ।
खानपानमा कन्ट्रोल गर्यो, व्यायाम गर्यो भने यो आफैँ निको भएर जाने समस्या हो । तर, कतिपय बिरामी कलेजो बिग्रन सक्छ भनेर तर्सन थाल्छन् र मानसिक प्रताडनामा रहन्छन् । तसर्थ, समस्या देखिएमा चिकित्सकलाई देखाउन आवश्यक छ । उमेर, लक्षण, अवस्था, वंशानुगत रोगलगायत विभिन्न पक्षलाई ध्यानमा राखेर चिकित्सकले रोगको निदान र समाधान खोज्ने गर्छन् ।
कतिपय अस्पताल वा ल्याबले आफ्नोमा उपलब्ध सुविधाहरू दिएर त्यसलाई नै होलबडी प्याकेज भन्ने गरेका छन् । तर, के–के जाँचिसकेपछि होलबडी भन्ने ? यस विषयमा धेरै कुरा अस्पष्ट छन् । एमआरआई चेकजाँचलाई होलबडी भन्ने कि, सिटिस्क्यानलाई होलबडी भन्ने कि, इन्डोस्कोपीलाई भन्ने कि ? स्पष्ट छैन । तसर्थ, समस्या देखिँदा चिकित्सकसँग परामर्श गर्नुको विकल्प छैन ।
यस्ता किसिमको होलबडी चेकअपले बिरामीलाई दिने हैरानी धेरै छ । कुनै व्यक्तिले इसिजी र इको जाँच गर्छन् । अनि रिपोर्टमा केही देखिँदैन, खानपान बार्दैनन् र पछि समस्या देखिन सक्छ । इसिजी र इको गर्दैमा मुटुमा समस्या छैन भन्ने हुँदैन । त्यसका लागि अन्य जाँच गर्नुपर्ने हुन्छ । यदि समस्या छैन भने उमेरअनुसार चिकित्सकको सल्लाहबमोजिम जाँच गर्नुपर्छ ।
सबै उमेरसमूहका व्यक्तिले समग्र शरीरको परीक्षण गराइरहनु आवश्यक छैन । उमेरअनुसार शरीरको समस्या चिकित्सकलाई भन्ने र उनीहरूको सल्लाहबमोजिम आवश्यक जाँच मात्रै गर्नुपर्छ ।
१८ वर्षमुनिका बालबालिकामा कुनै समस्या नदेखिँदासम्म मनलाग्दी चेकजाँच गर्नुहुँदैन । बच्चाको राम्रो विकास नहुने, रुघाखोकी पटक–पटक लाग्ने, स्याँ–स्याँ भइरहने, तौल नबढ्नेलगायत समस्या देखिएमा चिकित्सकसँग परामर्श गर्नुपर्छ र उनीहरूको सल्लाहअनुसार चेकजाँच गर्नुपर्छ ।
१८ वर्ष उमेर कटेका व्यक्तिले वर्षमा एकपटक जनरल चेकअप गर्नु राम्रो हुन्छ । तर, जाँच गर्नुअघि एकपटक चिकित्सकसँग परामर्श गर्नुपर्छ । जनरल चेकअपमा साधारण रगतको परीक्षण, मिर्गौलाकोे परीक्षण, सुगर, थाइराइड, सिबिसी काउन्ट र यदि कुनै रोगको लक्षण देखा परेको छ भने मुटुको जाँच गरिन्छ । वर्षमा एकपटक प्रेसर, सुगर, थाइराइड, शरीर दुख्ने समस्या, भिटामिनको जाँच गर्दा हुन्छ । तर, केही समस्या छैन भने नजाँच्दा पनि हुन्छ ।
३५ वर्ष कटिसकेका व्यक्तिमा पनि समस्या हेरेर मात्रै जाँच गर्न सुझाव दिइन्छ । चिकित्सकले लक्षण, रोगको अवस्था, मेडिकल हिस्ट्री, वंशानुगत समस्यालगायत बुझेर चेकजाँचका लागि सिफारिस गर्ने गर्छन् । पुरुष र महिलामा प्रायः फरक–फरक जाँच हुने गर्छ । जबकि, होलबडी चेकअपका नाममा अहिले विभिन्न क्लिनिकले पुरुष र महिलालाई चेकजाँचको एउटै लिस्ट दिने गरेका छन्, जो गलत छ ।
धूम्रपान र मद्यपान गरिरहेका कतिपय व्यक्ति पहिले होलबडी चेकअप गराउँछु, अनि त्यसपछि लत छाड्छु भन्ने मनस्थितिमा हुन्छन् । चेकअपमा कुनै समस्या नदेखिँदा उनीहरूलाई खाए पनि फरक नपर्ने रहेछ भन्ने पर्न सक्छ । जब कि, कुलतले कालान्तरमा जटिल रूप लिन सक्छ ।
के गर्ने, के नगर्ने ?
यदि आफूमा समस्या छ भने समस्याबारे फिजिसियन डाक्टरलाई बताउने र फिजिसियनको सल्लाहबमोजिम जाँच गर्ने । आफ्ना समस्याका विषयमा फिजिसियनलाई प्रस्ट रूपमा सोध्ने । गुगल गरेर वा कुनै लिस्टको आधारमा यो–यो जाँच गरिदिनुस् भनेर जाँच गर्नुहुँदैन । स्क्रिनिङ जाँच आफूखुसी ल्याबमा गएर गर्नुहुँदैन । समस्या र उमेरअनुसार चिकित्सकको परामर्श लिएर मात्र जनरल चेकअप गराउनुपर्छ ।