भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनी पार्ले एग्रोले आफ्नो नयाँ पेय ‘बी फिज’ नेपाली बजारमा ल्याएको छ । स्याउको स्वादमा रहेको अद्वितीय र स्फूर्तिदायी यो माल्ट स्वादयुक्त कार्बोनेटेड पेय नेपालमा पहिलोपटक प्रस्तुत गरिएको हो ।
यो पेय पदार्थले सबै उमेर समूहका उपभोक्ताहरूको स्वादको अनुभवमा परिवर्तन गर्ने विश्वास पार्ले एग्रोले व्यक्त गरेको छ । यही वर्ष बजारमा नेपालमा एप्पी फिज प्रस्तुत गरेको पार्ले एग्रोले कार्बोनेटेड पेय पदार्थमा क्रान्ति ल्याउने दाबीका साथ बी फिज बजारमा ल्याएको जनाएको छ । यो पेय पदार्थ माल्ट स्वादमा भएका कारण बियरको स्वादसँग पारंगत परिपक्व जनमानसका लागि पनि उत्तिकै रोमाञ्चक स्वादमा प्रस्तुत भएको कम्पनीको दाबी छ ।
पार्ले एग्रोकी प्रबन्ध निर्देशक तथा सिएमओ नादिया चौहानले आफ्ना उपभोक्ताका लागि अनुभवहरू बढाउन कम्पनी सधैँ अगाडि रहने बताइन् । उनले भनिन्, ‘हामी नयाँ आयामहरू प्रस्तुत गर्न तत्पर छौँ, त्यसैले उपभोक्तालाई नयाँ स्वाद र नयाँ अनुभवसँग परिचय गराउने प्रयास गर्छौँ, जुन हाल बी फिजले गर्छ ।’ ३० रुपैयाँबाट नै यसको मूल्य सुरु गरेर सकेसम्म धेरै उपभोक्तासमक्ष पुग्ने प्रयासमा रहेको उनको भनाइ थियो । पार्ले एग्रोले एप्पी फिज र फ्रुटीका लागि आफ्नो विद्यमान वितरण सहकार्यलाई विस्तार गर्दै नेपालमा बी फिज वितरण गर्न विशाल ग्रुपको पेय पदार्थ कम्पनी साउथ एसियन बेभरेजेजसँग सहकार्य गरेको जनाइएको छ ।
साउथ एसियन बेभरेजका प्रबन्ध निर्देशक आशिष अग्रवालले पार्ले एग्रोको नयाँ उत्पादन बी फिजको वितरण गर्नका लागि तयार, उत्सुक र ऊर्जाका साथ लागिपरेको बताए । उनले भने, ‘योभन्दा अगाडी एप्पी फिजलाई ६ महिनामै नेपालको सबै क्षेत्रका बजार र युवाहरूसमक्ष उल्लेखनीय रूपले लिएर जान सकेका थियौँ र अब बी फिज पनि सोही रूपले लाने हौसला र विश्वास हामीसँग छ ।’