विद्युत् व्यापारका लागि तयार हुन मन्त्री बस्नेतको निजी क्षेत्रलाई आग्रह

शुक्रबार, १ असार, २०८०
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई विद्युत् व्यापारका लागि तयारी अवस्थामा रहन आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा सम्पन्न स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २१औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उद्घाटन समारोहलाई निजी क्षेत्रका प्रतिनिधिहरूले विद्युत् व्यापारको अनुमति दिन आग्रह गरेका थिए । त्यसको जवाफमा मन्त्री बस्नेतले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने गरी तयार गरिएको विद्युत् विधेयक, २०८० लाई छिट्टै संसद्मा दर्ता गर्ने बताएका हुन् । प्रचलित विद्युत् ऐन, २०४९ मा निजी क्षेत्रले विद्युत व्यापार गर्न पाउने व्यवस्था छैन । अहिले सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणलाई मात्रै विद्युत् व्यापार गर्ने अधिकार छ । निजी क्षेत्रले वर्षाैँदेखि विद्युत् व्यापारको अनुमति दिन आग्रह गर्दै आएका छन् । त्यसका लागि निजी क्षेत्रबाट कम्पनीसमेत स्थापना भएका छन् ।  

यस्तै, सरकारले ‘विकासका लागि ऊर्जा’ अभियान सुरु गर्न लागेको मन्त्री बस्नेतले जानकारी दिए । यस्तै, विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले जलविद्युत् आयोजनालाई हकप्रद जारी गर्न अनुमति दिएपछि पाँच मेगावाटको आयोजनाले पनि ५० मेगावाटको अर्काे आयोजना बनाउन सुरु गरेको बताए । साथै, बंगलादेशसँग विद्युत् व्यापारलाई प्रभावकारी बनाउन अन्तरदेशीय डेडिकेटेड प्रसारणलाइन बनाउन जोड दिनुपर्ने उनको भनाइ छ ।

यस्तै, इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले निजी क्षेत्र विद्युत् व्यापारका लागि तयार भइसकेको बताए । ‘जसरी उत्पादनमा निजी क्षेत्र नआउँदासम्म विद्युत् उत्पादन बढेन, त्यसैगरी व्यापारमा पनि निजी क्षेत्र नआएसम्म व्यापारको दायरा बढ्न सक्दैन । हामी विद्युत् व्यापार गर्न योग्य छौँ, तयार छौँ । सरकारले अनुमति दिएर वातावरण बनाइदिनुपर्छ,’ उनले भने ।  

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको ऊर्जा क्षेत्रमा भारतीय निजी क्षेत्रको धेरै ठूलो लगानी आउने बताए । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा एफएनसिसिआईले भारतीय निजी क्षेत्रसँग छलफल गर्दा उनीहरू नेपालमा लगानी गर्न उत्साहित भएको पाएको उनको भनाइ छ ।

 यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाललाई समृद्ध बनाउने क्षेत्र ऊर्जा नै भएको बताए । नेपालको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा भए पनि यसबाट बाहिर आउने आधार पनि ऊर्जा नै रहेको उनको भनाइ छ । ‘अहिले नेपालको सबै ध्यान ऊर्जामा केन्द्रित गर्नुपर्छ । चारतिर हात हालेर हुँदैन । नेपाललाई समृद्ध बनाउने र अहिलेको अप्ठ्यारोबाट बाहिर निकाल्ने क्षेत्र ऊर्जा नै हो,’ उनले बताए । 

उपाध्याय र घिसिङलाई सम्मान 
इप्पानले पूर्वऊर्जासचिव सूर्यनाथ उपाध्यायलाई ऊर्जा ज्योति पुरस्कारले सम्मान गरेको छ । उनलाई एक लाख रुपैयाँले सम्मान गरिएको हो । यसैगरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई विशेष सम्मान गरेको छ ।

सुझावित समाचार