सट्टेबाजीमा ७४ करोडको कारोबार, पाँच पक्राउ

बिहिबार, ३२ जेठ, २०८०
डिजिटल संस्करण

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. केसी भन्छन्— सट्टेबाज धन्दामा पक्राउ परेको यो हालसम्मकै ठूलो घटना हो ।

प्रहरीले विश्वमा सञ्चालित विभिन्न खेलमा सट्टेबाज लगाउने धन्दामा संलग्न पाँच अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्ने कैलाली लम्कीचुहा नपा– १० का २९ वर्षीय दिनेश खड्का, काभ्रे पाँचखाल नपा– ४ की २८ वर्षीया अनिता धिताल, भक्तपुर मध्यपुरठिमी नपा– ४ का २७ वर्षीय दीपेश श्रेष्ठ, कञ्चनपुर भीमदत्त नपा– १८ का २५ वर्षीय दिनेश चन्द र नुवाकोट ककनी गापा– ७ का २४ वर्षीय आशिष लामिछाने रहेका छन् । सट्टेबाज खेलाउने क्रममा उनीहरूको बैंक खाताबाट ७४ करोड १३ लाख ५० हजार सात सय १३ रुपैयाँ कारोबार भएको देखिएको प्रहरीले जानकारी दिएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार धन्दाका मुख्य योजनाकार दिनेश हुन् । उनको खाताबाट मात्रै ६४ करोड रुपैयाँको कारोबार भएको देखिएको छ । कारोबारका लागि उनले जंगल, पुकुडन, पिंकी, पिन्टु, गुल्लु, अनियन– १ जस्ता १२ अकाउन्टबाट कनेक्ट आइपिएस अकाउन्ट खोलेका थिए । उनले वान एक्स बेटमार्फत सट्टेबाज धन्दा चलाउँदै आएका थिए । धन्दामा उनले प्रेमिका अनितालाई पनि सामेल गराएका थिए । उनले मोबाइलमा बाइनेन्स अकाउन्ट खोली अमेरिकी डलर खरिद गर्दै आएकी थिइन् ।

धन्दामा संलग्नमध्ये दीपेशले विभिन्न चारवटा सिमकार्ड प्रयोग गरी इसेवा लिएका थिए । उनले उक्त खातामार्फत ५९ लाख २९ हजारको कारोबार गरेको देखिएको छ । उनले विभिन्न बैंकमा रहेको खातामार्फत कारोबार गर्दै आएका थिए । सबै गरी उनको बैंक खातामा सीमित अवधिभित्र पाँच करोड ५४ लाख ६६ हजारको कारोबार भएको खुलेको छ । 

आशिषले पनि विभिन्न बैंकमार्फत दुई करोड ९८ लाख ९६ हजारको कारोबार गरेको खुलेको छ । उनीबाट प्रहरीले ३५ लाख रुपैयाँ नगद बरामद गरेको छ । उनी चार्टर अकाउन्टेन्ट हुन् । उनले सट्टेबाजका क्रममा हुने सबै कारोबारको अकाउन्ट अडिट गर्थे । जसको उनी निश्चित रकम कमिसनबापत बुझ्थे । 

त्यस्तै, पक्राउ पर्नेमध्ये दिनेशको बैंक खातमा भने ४५ लाख रुपैयाँको कारोबार भएको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा संलग्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. केसीका अनुसार सट्टेबाज धन्दामा पक्राउ परेको यो हालसम्मकै ठूलो घटना हो । 

उनले भने, ‘सट्टेबाज धन्दामा संलग्न हुने अभियुक्तबाट यति ठूलो रकमको कारोबार भएको हालसम्म फेला परेको थिएन । पक्राउ परेकामध्ये केही धन्दाका खास एजेन्ट हुन् । यिनीहरूले धेरैबाट रकम असुल गरेको र क्रिप्टोमार्फत रकम लेनदेन गरेको देखिन्छ जुन गैरकानुनी हो ।’

See More On

सुझावित समाचार