बच्चालाई राम्रो हेरचाहसँगै उचित संस्कार दिन जरुरी छ । बाल्यकालमा सिकेका कुरा जीवनभर मानिसको मस्तिष्कमा रहिरहन्छन् । त्यसैले उनीहरूको विशेष ख्याल गर्नुपर्छ । उनीहरूलाई व्यावहारिक ज्ञान सिकाउन जरुरी छ । सानो छँदा हरेक कुरामा बाबु–आमाले सहयोग गर्नुपर्ने भए पनि १२ वर्ष कटेपछि केही कुरा बच्चालाई आफैँ गर्न लगाउनुपर्छ ।
सपिङ गर्न सिकाउनुस्
बच्चालाई सानैदेखि तपाईंसँग सपिङमा लैजानुहोस् । दैनिक प्रयोग हुने सामग्रीहरू पाउरोटी, दूध, कापी–कलम आदि किन्दा उसलाई पनि लैजानुहोस् । जसकारण, उसले व्यावहारिक जीवनमा प्रयोग हुने सामग्रीका विषय जानकारी पाउन थाल्छ । किशोरावस्थामा टेकेपछि अर्थात् १२ वर्ष लागेपछि उनीहरू बिस्तारै एक्लै यस्ता सामग्री किन्न जान थाल्छन् । उनीहरूको आत्मविश्वास बढेर जान्छ । त्यस्तै, बाहिरी दुनियाँ बुझ्न पनि थाल्छन् ।
खाना बनाउन सिकाउनुस्
१२ वर्ष पुगिसकेपछि बच्चालाई खाना पकाउन पनि सिकाउनुस् । चाउचाउ उमाल्न, अम्लेट बनाउन, दूध तातो बनाउन, पाउरोटीमा जाम लगाउन, चिया बनाउन सिकाउन सकिन्छ ।
व्यवस्थापन कला
बच्चालाई व्यवस्थित बन्न सिकाउनुपर्छ । यसले उनीहरूलाई आत्मविश्वासी र आत्मनिर्भर बनाउँछ । उनीहरूलाई आफ्नो कोठा, कपडा र आफ्ना सामान मिलाएर राख्न सिकाउनुस् । यस्तो स्वभावले उनीहरूलाई संयोजित बन्न सिकाउँछ र आफ्नो सामान कहाँ राखिएको छ भनेर पनि उनीहरूले सहजै पत्ता लगाउन सक्छन् । अभिभावक बाहिर भएको समय पनि उनीहरूलाई खासै समस्या हुँदैन । बिस्तारै उनीहरू व्यवस्थापन कलामा अब्बल बन्दै जान्छन् ।
कपडाको जतन
कपडाको जतन गर्न सिकाउनुपर्छ । फोहोर कपडा धुन, सुकाउन, आइरन गरिएका कपडालाई सम्हालेर राख्न सिकाउनुपर्छ । बच्चामा सफा कपडा मात्रै लगाउने बानीको विकास हुन्छ । यस्ता गतिविधिले उसको व्यक्तित्व सकारात्मक बनाउँदै लैजान्छ ।
सरसफाइ
बच्चाहरू प्रायः आफ्नो कोठामा चकचक गरिरहन्छन् । उनीहरूले अव्यवस्थित बनाएको कोठालाई बाबु–आमाले व्यवस्थित र सफा गर्छन् । बच्चालाई १२ वर्ष पुगेपछि आफ्नो कोठा सफा गर्न सिकाउनुपर्छ । त्यस्तै, कोठा व्यवस्थित गर्न र हरेक सामग्री सही ठाउँमा राख्न पनि सिकाउनुस् ।
शारीरिक गतिविधिमा प्रेरित गर्नुस्
बच्चालाई शारीरिक रूपमा सक्रिय राख्नुपर्छ । रुचिअनुसार योग, ध्यान, संगीत तथा नृत्यमा लगाउन सकिन्छ । यसले उनीहरूको व्यक्तित्व विकासमा ठूलो सहयोग पु¥याउँछ । रुचिअनुसार फुटबल, क्रिकेट, कराँतेजस्ता खेल खेलाउन पनि सकिन्छ । बच्चालाई आफ्नो निगरानीमा पार्कमा घुमाउन लैजाने तथा उनीहरूसँगै खेल खेल्ने गर्नुपर्छ । यस्तो हुँदा बिस्तारै बच्चाहरू खेल्नका लागि आफैँ निस्कन थाल्छन् । खेलकुदले उनीहरूको मानसिक र शारीरिक विकासमा ठूलो भूमिका खेल्छ । हड्डी र मांसपेशीहरू मजबुत बनाउँछ । व्यक्तित्व विकासमा सहयोग पु¥याउँछ । योगाभ्यास तथा ध्यानले उनीहरूको व्यक्तित्व निखार्ने काम गर्छ । उनीहरूलाई सकारात्मक सोच्न प्रेरित गर्नुपर्छ । नैतिक शिक्षा अनिवार्य दिनुपर्छ ।
मोबाइल र ल्यापटपमा अत्यधिक झुम्मिन दिनुहुँदैन । निश्चित समय मात्रै ग्याजेट चलाउन दिनुपर्छ । अत्यधिक समय ग्याजेट चलाउने बच्चामा अल्छीपन बढ्ने, मोटोपन हुने, आँखा दुख्ने, टाउको दुख्नेलगायत समस्या देखिने गरेको छ ।