बिमस्टेकमा बिजनेस फोरम बनाउन महासंघको प्रस्ताव

बुधबार, ३१ जेठ, २०८०
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) अन्तर्गत बिजनेस फोरम स्थापना गर्न प्रस्ताव गरेका छन् । बिमस्टेक सदस्य राष्ट्रहरूबीचको व्यापार तथा लगानी पवद्र्धन गर्ने तथा निजी क्षेत्रहरूबीच सहकार्य बढाउने गरी बिजनेस फोरम बनाउन उनले प्रस्ताव गरेका हुन् ।

 भारतको कलकत्तामा आयोजित बिमस्टेक बिजनेस कन्क्लेभको अन्तर्राष्ट्रिय व्यापार मञ्च विशेष सत्रलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ढकालले ‘बिमस्टेक बिजनेस फोरम’ स्थापनाका लागि महासंघले अग्रसरता लिनेसमेत बताए । ‘क्षेत्रीय व्यापार तथा लगानी प्रवद्र्धन गर्न, सदस्य राष्ट्रबीचका निजी क्षेत्रबीच सहकार्य बढाउन, व्यापार तथा लगानीका समस्या तथा अवरोधहरूको निराकरण गर्ने उपाय खोज्नेलगायत कार्यका लागि बिमस्टेकमा एउटा छुट्टै संयन्त्र हुन अवाश्यक छ,’ उनले भने, ‘बिमस्टेक बिजनेस फोरम गठन गर्न आवश्यक छ र यसका लागि अग्रसरता लिन महासंघ तयार छ ।’ अध्यक्ष ढकालले आगामी नोभेम्बरमा बैंककमा हुने सरकार प्रमुखहरूको बिमस्टेक बैठकले ‘बिमस्टेक बिजनेस फोरम’ गठनको पहलकदमी लिन सक्ने बताए । यसका लागि महासंघले समेत नेपाल सरकारमार्फत सुझाव दिने उनले बताए । 

 प्रभावकारी पूर्वाधार आवश्यक
महासंघ अध्यक्ष ढकालले बिमस्टेक राष्ट्रहरूमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवद्र्धन गर्न प्रभावकारी पूर्वाधारको आवश्यकता रहेकोसमेत बताए । क्षेत्रीय व्यापार र लगानी प्रवद्र्धन गर्न राम्रा र प्रभावकारी सडक, जलमार्ग, रेलमार्गजस्ता पूर्वाधारको आवश्यकता रहेको बताएका हुन् । ‘हवाई तथा डिजिटल कनेक्टिभिटी बढाउन, विद्यमान कनेक्टिभिटी पूर्वाधारमा सुधार गर्न र नयाँ पूर्वाधारहरू निर्माण गर्न बिमस्टेकमा रहेका देशहरूले संयुक्त रूपमा लगानी गर्न आवश्यक छ, उनले भने, ‘क्षेत्रीय मूल्य शृंखलाको विकासमा सहयोग पुर्याउन पूर्वाधारको विकास र स्तरोन्नतिका संयुक्त प्रयास गर्न सकिन्छ ।’

ऊर्जा व्यापारसहित क्रस बोर्डर ऊर्जा सहयोग प्रवद्र्धनले क्षेत्रीय मूल्य शृंखलामा बढी मात्रामा ऊर्जा आवश्यक पर्ने उद्योगहरूको विकासलाई सहयोग पुग्ने उनले बताए । ‘उदाहरणका लागि, नेपाल, बंगलादेश र भारतले नेपालको जलविद्युत् बंगलादेशसम्म निर्यात गर्न जलविद्युत् प्रसारण लाइनमा काम गरिरहेका छन् । यसले नेपालमा उत्पादित बिजुली भारत हुँदै बंगलादेशसम्म पुग्नेछ । यसलाई बिमस्टेकका अन्य राष्ट्र र त्यसभन्दा बाहिर पनि विस्तार गर्न सकिन्छ,’ उनले भने ।

कनेक्टिभिटी पूर्वाधारका अतिरिक्त, बिमस्टेक देशहरूले क्षेत्रीय व्यापार र लगानीलाई सहज बनाउन व्यापारमा लाग्ने विभिन्न गैरभन्सार अवरोधहरू हटाउन र घटाउनु आवश्यक रहेको पनि उनले बताए । ‘यस क्षेत्रको स्वतन्त्र व्यापार व्यवस्थाले सदस्य राष्ट्रहरूबीचको द्विपक्षीय र बहुपक्षीय व्यापार बढाउन सहज बनाउन सक्छ । नेपालले आफ्नो निर्यातमा लाग्ने कर हटाउने वा घटाएकोमा फाइदा लिन सक्छ,’ उनले भने ।

 अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा उपाध्यक्ष श्रेष्ठको सम्बोधन
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठले अन्तर्राष्ट्रिय श्रम संगठनका सदस्य राष्ट्रहरूबीच आपसी सहकार्य आवश्यक रहेको बताएकी छिन् । जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १११औँ सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

सभापति श्रेष्ठले सूचना प्रविधिको बढ्दो प्रयोग एवं काम गर्ने पद्धतिमा आएको परिवर्तनबाट श्रम बजार र श्रम सम्बन्धमा पनि परिवर्तन आउने र यसबाट रोजगारी कटौती तथा नयाँ सीपयुक्त जनशक्तिको आवश्यकता पर्ने उल्लेख गरिन् । १७६ भन्दा बढी मुलुकका सरकार, रोजगारदाता र ट्रेड युनियन प्रतिनिधिहरूको सहभागिता रहेको आइएलओ सम्मेलन जुन ५ देखि सुरु भई जुन १६ सम्म चल्नेछ । सम्मेलनमा सभापति श्रेष्ठको नेतृत्वमा शिक्षा, सीप विकास तथा रोजगार समितिका सभापति गोपाल खनाल, महासंघ मधेस प्रदेशका अध्यक्ष अशोककुमार अग्रवाल (टेमानी) र महासंघका वरिष्ठ परामर्शदाता हंसराम पाण्डेले भाग लिएका छन् ।

सुझावित समाचार