आइसिसी एकदिवसीय विश्वकपअन्तर्गत ग्लोबल छनोटको अभ्यास खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको छ । जिम्बावेमा मंगलबार भएको अभ्यास खेलमा पहिलो ब्याटिङ गरेको नेपालले ४९ ओभरमा सबै विकेट गुमाएर दुई सय ७६ रन बनाएको थियो । प्रत्युत्तरमा युएईले ४९.५ ओभरमा सात विकेटको क्षतिमा दुई सय ७८ रन बनाएको थियो ।
युएईविरुद्ध उत्कृष्ट ब्याटिङ गर्ने क्रममा नेपालले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेको थियो । ओपनर कुशल भुर्तेल र आसिफ शेखले १८.२ ओभरसम्म साझेदारी गरेका थिए । कुशलले ३५ बल सामना गरी ६ चौकाको सहयोगमा ३९ रन बनाए ।
त्यसपछि आसिफले भीम सार्कीसँग दोस्रो विकेटका लागि ५६ रनको साझेदारी गर्दै नेपाललाई ३२.६ ओभरमा १४३–२ को बलियो स्थितिमा राखे । भीमले ४६ बलमा २५ रन जोडे । आसिफले एक सय चार बलमा सर्वाधिक ७६ रनको योगदान दिए । उनले आफ्नो इनिङ्समा सात चौका र एक छक्का प्रहार गरेका थिए । त्यसपछि कुशल मल्ल र आरिफ शेखले चौथो विकेटका लागि ८८ रनको साझेदारी गर्दै नेपाललाई ४४.१ ओभरमा २३५–४ को स्थितिमा राखे । आरिफले ३३ बलमा तीन चौका र एक छक्का प्रहार गरी ३५ रन बनाए । नेपालका लागि कुशलले ३० बलमा एक चौका र चार छक्का प्रहार गर्दै ४६ रन जोडे ।
प्रत्युत्तरमा युएईका लागि रोहन मुस्तफाले ७० रनको नटआउट इनिङ्स खेले । उनले ५६ बलमा नौ चौका र एक छक्का प्रहार गरेका थिए । दोस्रो ओपनर आयास शर्माले ४९ बलमा ५० रन जोड्दा नौ चौका प्रहार गरे । बसिल अहमदले २८ बलमा २७ रन बनाए । बलिङमा सोमपाल कामीले ५७ रनमा दुई विकेट लिए । ललितनारायण राजवंशीले ४९ रन खर्चंदै दुई विकेट हात पारे ।
महिला टोली पाकिस्तानसँग हार्यो
हङकङमा चलिरहेको एसिसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ले नेपाललाई नौ रनले हराएको छ । पहिलो ब्याटिङ गरी पाकिस्तान ‘ए’ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र जोडेको थियो । नेपालका लागि ओपनर कविता कुँवरले ३२ बलमा सर्वाधिक २० रन बनाइन् । कविता जोशीले १७ बलमा अविजित १५ रन बटुलिन् । पाकिस्तान ‘ए’का लागि सइदा शाह र तुवा हसनले समान दुई विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्र बनायो । पाकिस्तानका लागि सवाल जुफिकले ३६ बलमा २८ रन बनाइन् । नेपालका लागि इन्दु बर्माले तीन विकेट लिएकी थिइन् । कविता जोशी, कविता कुँवर र सीता रानामगरले समान दुई विकेट लिए ।
जितसँगै पाकिस्तान समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । नेपाल दोस्रो स्थानमा रहेको छ । थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगिता खेल्न अवसर पाएको हो । यो प्रतियोगितामा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो । समूह ‘ए’मा नेपालले अब हङकङ र भारतको सामना गर्नेछ ।