राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हु निङबीच भेटवार्ता भएको छ। चीनको औपचारिक भ्रमणमा रहेका तिमिल्सिना र हुनिङबीच मंगलबार दिउँसो ग्रेट हल अफ पिपुल्स बेइजिङमा भेटवार्ता भएको हो।
भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको बताउँदै भविष्यमा पनि नेपाल सो नीतिकै पक्षमा प्रतिबद्ध रहने बताएका थिए। ‘नेपाली भूमिको दुरुपयोग गरी चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने हाम्रो नीति र प्रतिबद्धतामा हामी दृढ रूपमा अडिग छौँ,’ उनको भनाइ थियो। असल छिमेकी एवं विकासको साझेदारको रूपमा नेपालले चीनसँगको सम्बन्धलाई सधैँ उच्च महत्व र प्राथमिकता दिँदै आएको उनले बताए।
नेपालको पर्यटन क्षेत्रम चिनियाँ पर्यटकको दोस्रो ठूलो हिस्सा भएको र भविष्यमा सीधा उडानहरू सुरु गरेर यसलाई बढवा दिन अध्यक्ष तिमिल्सिनाले आग्रह गरेका थिए। चिनियाँ ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पुर्याउनेमा विश्वस्त रहेको बताउँदै उनले पोखरामा चीनका विभिन्न सहरबाट सोझो उडान हुने विश्वास व्यक्त गरे।
भेटमा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङले नेपालमा चीनविरोधी गतिविधि नहोस् भन्ने चीनको चाहना रहेको बताए। अध्यक्ष वाङले नेपाल र चीन दुई देशबीच कूटनीतिक सम्बन्ध प्रगाढ बनाउनका लागि दुई देशका राजनीतिक तहमा भ्रमण आदानप्रदान गरिने बताउँदै चीन छिमेकी देशहरूसँग मैत्री, पारस्परिक लाभ हुने काम गर्न तयार रहेको प्रस्ट पारे।