परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चित्रलाई विलासिताको वस्तुका रूपमा लिनु नहुने बताएका छन्। मंगलबार ललितकला प्रतिष्ठानमा चित्रकलाको अवलोकनपश्चात् सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो धारणा राखेका हुन्।
चित्रहरू विलासिताका वस्तु नभई सिर्जनाका कुरा र युगका प्रतिबिम्ब भएको उनको भनाइ छ। युगलाई भावी पुस्तामा चिनाउने माध्यम नै चित्रकला रहेको बताउँदै मन्त्री साउदले चित्रकलालाई विदेशमा पनि निर्यात गरी नेपालको कला, संस्कृति र इतिहासलाई विश्वमाझ फैलाउन जरुरी रहेको उल्लेख गरे।
‘नेपाल सरकारले कलाकारहरूलाई सम्मान अन्तरहृदयबाट दिन्छ। त्यसलाई अभिव्यक्त गर्दा कहिलेकाहीँ ढंग नपुगेको जस्तो देखिन्छ। मानिसले चित्रहरू विलासिताका वस्तुहरू हुन् भन्छन्, तर चित्र विलासिताको वस्तु होइन, यी सिर्जनाका कुरा हुन्। चित्र युगका प्रतिबिम्ब हुन्। हाम्रो युगलाई यिनै चित्रमा हेरेर भावी पिँढीले हाम्रो मूल्यांकन गर्नेछ,’ उनले भने।