चौधर नदीमा विपत् पूर्वतयारी अभ्यास

मंगलबार, ३० जेठ, २०८०
डिजिटल संस्करण

कञ्चनपुरको दक्षिणी क्षेत्र चौधर नदीमा विपत् पूर्वतयारी अभ्यास गरिएको छ। बेलडाँडी गाउँपालिका– ५ झिलमिला चौधर नदीमा विपत् जोखिम पूर्वतयारी अभ्यास गरिएको हो।

चुरेबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बेलडाँडी– ५ इमलिया, झिलमिला भएर महाकाली नदीमा मिसिने चौधर नदीको उच्च जोखिम क्षेत्रमा मंगलबार अभ्यास गरिएको हो। विपत् आएका वेला संकटमा परेका व्यक्तिको उद्धार गराउने उद्देश्यले गाउँपालिका र निड्स नेपालले संयुक्त रूपमा अभ्यास गरेका हुन्।

निड्स नेपालका परियोजना संयोजक ईश्वर उपाध्यायले विपतका वेला मानिससहित अन्नपात र धनसम्पत्ति जोगाउनका लागि समुदायलाई अग्रसर गराएर अभ्यास गरिएको बताए। ‘गाउँबस्तीमा विपत् जोखिम बढ्दा सुरुमा समुदायलाई नै जिम्मेवार बनाउनुपर्छ,’ उनले भने, ‘राज्यका निकाय जोखिम भएको स्थानमा पुग्दासम्म समय लाग्ने र उति वेलासम्म समुदायस्तरबाटै उद्धार कार्य गर्न–गराउन समुदायकै व्यक्ति सरिक हुनपर्ने हुन्छ।’

स्थानीयले समेत नमुना अभ्यासबाट विपतका वेला जोखिममा परेका मानिसको खोज तथा उद्धार कार्य कसरी गर्ने भन्ने बारेमा सिकाइ भएको बता। बेलडाँडी गाउँपालिका– ५ का वडाध्यक्ष इन्द्र खड्काले चौधर नदीले इमलिया र झिलमिलामा सबैभन्दा बढी जोखिम बढाएको बताए। 

बेलडाँडीमा चौधर, झर्नाखोला र निकुञ्जबाट आउने पानीका कारण डुबान, कटान हुँदै आएको छ। स्थानीयले चौधर नदी बीच जंगलबाटै डाइभर्ट गर्नुपर्ने र झर्ना खोलाको ‘हेड टू टेल’ तटबन्ध निर्माणको माग सार्दै आएका छन्।

सुझावित समाचार