राष्ट्रपति पौडेल अस्पताल भर्ना

मंगलबार, ३० जेठ, २०८०
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। राष्ट्रपति पौडेललाई सामान्य स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको राष्ट्रपतिका निजी चिकित्सक डा. नीरज बमले जानकारी दिए।

उनलाई बिहान ७  बजे बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको हो । दम र ग्याष्ट्रिकबाट पीडित राष्ट्रपति पौडेलको छाती दुखेपछि मुटुको परीक्षणका लागि अस्पताल लगिएको बताइएको छ।

राष्ट्रपति अस्पताल भर्ना भएपछि सामाजिक सञ्जालमा उनलाई हृदयघात भएको हल्ला फैलिएको थियो। उक्त हल्लामा कुनै सत्यता नरहेकाे डा. बमले प्रस्ट पारे । उनले भने, ‘हृदयघात भएको भन्ने सूचना गलत हो। सामान्य स्वास्थ्य परीक्षणका लागि उहाँलाई अस्पताल लगिएको हो।’

पौडेललाई अस्पतालको भिआइपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको छ । भर्नापछि मुटुको परीक्षणका लागि एनजिओग्राम गरिएको छ। एनजिओग्रामको सुरुवाती रिपोर्ट राम्रो रहेको राष्ट्रपतिनिकट स्रोतले बताएको छ।

गंगालालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरिरहेको छ। एनजिओग्राम गरेपछि २४ घन्टा अब्जर्भेसनमा राख्नुपर्ने भएकाले राष्ट्रपतिलाई भोलि डिस्चार्ज गरिने बताइएको छ।

सुझावित समाचार