नगर प्रहरीले खोल्यो विद्यालयमा विद्यार्थी संगठनले लगाएको ताला

मंगलबार, ३० जेठ, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको क्षेत्राधिकारभित्र रहेका विद्यालयमा विद्यार्थी संगठनले लगाएको ताला नगर प्रहरी बलले खोलेको छ ।

विभिन्न माग राख्दै विद्यार्थी संगठनले वडा नं. १५ ठूलो भर्याङमा रहेको संस्कृति इन्टरनेसनल स्कुल र वडा नं. ३ बाँसबारीमा रहेको युलेयन्स स्कुलमा ताला लगाएका थिए। महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले विद्यालयले नियम पालना नगरेको पाइए महानगरमा उजुरी गर्न अनुरोध गरेका छन्।

‘हामी शैक्षिक गुणस्तर सुधारका लागि नियमित काम गरिरहेका छौँ । विद्यालयमा कसैले राजनीति गरेको हामी कल्पना पनि गर्न सक्दैनौँ । चाहे त्यो सरकारी होस् वा निजी,’ प्रमुख साहले भने, ‘हामीले विद्यालयमा लगाएको ताला फोडेर शैक्षिक क्रियाकलाप नियमित गराएका छौँ।’

यसअघि उनले सार्वजनिक अपिल गर्दै शिक्षकलाई राजनीति नगर्न, कुनै दलको सदस्यता नलिन, लिएको भए त्याग गर्न आग्रह गरेका थिए।

सुझावित समाचार