काठमाडौं उपत्यकामा बागमती र त्यसका सहायक नदी सफा बनाउन यहाँका पहाडमा एक सय ९८ वटा पोखरी बनाइने भएको छ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए।
अहिले उपत्यकाका नदीमा वर्षामा बाढी पस्ने र हिउँदमा खोला पूर्ण रूपमा सुक्खा हुने समस्या छ। नदी सफा हुनलाई प्रशोधन केन्द्र आवश्यक रहेको उनले बताए। उनले भने, ‘नदी पूर्ण रूपमा सुक्खा हुँदा पानी प्रशोधन हुँदैन । जति पानी बढ्यो पानी प्रशोधित हुँदै जान्छ ।’
गुहेश्वरीमाथि धापमा जस्तै विभिन्न स्थानमा पार्क बनाइने समितिको भनाइ छ । पर्यटकीय हिसाबले महत्वपूर्ण हुने तथा हिउँदमा पानी रिचार्ज गरी वर्षामा बाढी नियन्त्रण हुने गरी धाप निर्माणको योजना रहेको उनले जानकारी दिए।
बागमती करिडोरमा सन् २००९ देखि सन् २०१४ सम्मका लागि बागमती कार्ययोजना बनाइएको थियो । त्यसलाई अध्यावधिक गरी सन् २०२३ देखि सन् २०४३ सम्मको कार्ययोजना बनाइएको छ।
बागमती सफा गर्नका लागि ठोस मात्रै फोहाेर हटाएर नहुने सूचना अधिकारी अर्यालको भनाइ छ । ढल व्यवस्थापनका लागि सबै खोला किनारमा ढलको लाइन बिच्छ्याएर प्रशोधन गरिनुपर्ने उनले प्रस्ट पारे। बागमतीमा ढल निर्माण भए पनि त्यसमा मिसिने अरू खोलामा ढल निर्माण गरी त्यसलाई प्रशोधन केन्द्रमा लैजान आवश्यक रहेको उनले बताए। बागमतीका सहायक र शाखा नदी व्यवस्थित नहुँदासम्म बागमती सफा नहुने देखिएको छ ।
समितिले अहिले नदी किनारमा मात्रै ढलको काम गरिरहेको र त्यसभन्दा बाहेकमा अन्य निकायले काम गरिरहेको हुँदा आपसी समन्वय हुनुपर्ने उनको भनाइ छ । समितिले बागमतीको उदगमस्थल बागद्वारबाट ललितपुरको कटुवाल दहसम्म नदी सफाइ र करिडोर सडक निर्माण एकैसाथ अघि बढाएको छ ।
बागमती नदी सफा बनाउने उद्देश्यले समिति स्थापना भए पनि पछि यसको कार्यक्षेत्र विस्तार भएर सफाइसँगै नदी आसपासमा पूर्वाधार निर्माणमा लागेको थियो । पशुपति क्षेत्रको वातावरण सुधारका लागि ०५१ चैत २८ गते यसको स्थापना भएको थियो । सुरुमा कार्यान्वयन र अनुगमन समितिका रूपमा स्थापना भएकामा ०६५ साल जेठमा यसलाई अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति नामकरण गरिएको थियो ।