काठमाडौं महानगरपालिकाले कुलेश्वरस्थित नेपाल फलफूल थोक व्यवसायी संघलाई ५० हजार जरिवाना तिराएको छ । सडकपेटी र सडकमा जथाभावी फोहोर फालेपछि महानगर नगर प्रहरीले संघलाई जरिवाना तिराएको हो ।
महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले फलफूल तथा तरकारी सडकमा फालेर फोहोर गरेकाले कारबाही भएको जानकारी दिए । ‘अहिले तरकारी र फलफूल व्यवसायीहरूले सडक र फुटपाथ अवरोध गरिरहेका छन्, हामीले उनीहरूको सामान जफत मात्रै होइन, जरिवाना पनि तिराउँछौँ,’ उनले भने ।
फलफूल तथा तरकारी व्यवसायीहरूले कुलेश्वरमा रहेको कुलेश्वर माविअगाडि फोहोर थुपारेका थिए । तरकारी तथा फलफूलको फोहोर स्कुलको अगाडि थुपार्दा फोहोर र दुर्गन्धसमेत फैलिएको छ । नगर प्रहरीले फोहोर फाल्ने व्यवसायी पहिचान गरी जरिवाना तिराएको नगर प्रहरीले जनाएको छ ।
यस्तै, उक्त फोहोर उठाएर ढुवानी गर्दा लाग्ने रकम पनि फोहोर फाल्नेहरूलाई नै महानगरले तिराएको छ । यस्तै, तिनकुने र शान्तिनगरमा रहेको तरकारी तथा फलफूल पसलमा पनि महानगर नगर प्रहरीले अनुगमन गरेको छ । अनुगमनका क्रममा तरकारी तथा फलफूलको फोहोर जथाभावी नफाल्न निर्देशन दिएको छ ।