प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका विश्वविद्यालयहरूले पठनपाठनको शैली परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। आइतबार काठमाडौं विश्वविद्यालयको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले यस्तो धारणा राखेका हुन्।
‘हाल सञ्चालनमा रहेका विश्वविद्यालयहरूले पठनपाठन र अनुसन्धानको शैली परिर्वतन गर्न आवश्यक छ,’ उनले भने, ‘विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रमहरूमा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।’ अनुसन्धानले समाजमा प्रभाव र परिर्वतन ल्याउन नसके साधन र स्रोतको सही सदुपयोग हुन नसक्ने पनि उनले प्रस्ट पारे।
विश्वविद्यालय तहको अध्ययन अनुसन्धानलाई सबल बनाउन सरकारले अनुसन्धानका कार्यहरू विश्वविद्यालयमार्फत गराउने निर्णय गरिसकेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरू आफैँ नमुना संस्थाको रूपमा सञ्चालन हुनुपर्नेमा उनले जोड दिए।
पछिल्ला वर्षहरूमा विश्विद्यालय स्थापना गर्ने होडबाजी चले पनि शिक्षाको गुणस्तर र विश्वासनीयताको प्रश्न खडा भएको उल्लेख गरे। ‘एक वर्षयता विश्वविद्यालय स्थापना गर्ने होडबाजीजस्तै चलेको छ। एउटै विषय अध्यापन गर्नका लागि धेरै विश्वविद्यालय चाहिँदैनन्। स्थापना भइसकेका विश्वविद्यालयको स्रोत र साधनको सुनिश्चितता गर्नुपर्छ,’ उनले भने, ‘विश्वविद्यालयहरूको शिक्षामा गुणस्तर र विश्वासनीयताको प्रश्न खडा भएको छ।’