सोक्लामा रक क्लाइम्बिङको मज्जा

आइतबार, २८ जेठ, २०८०
डिजिटल संस्करण

पछिल्लो समय दोलखाको भीमेश्वर नगरपालिका– २, सोक्ला भिर ‘रक क्लाइम्बिङ’का पारखीहरूको रोजाइमा पर्न थालेको छ । यात्रासँगै साहसिक खेलको मज्जा लिन चाहनेका लागि यो एक राम्रो गन्तव्य हुन सक्छ । यहाँबाट गौरीशंकर हिमशृंखलाको मनोरम दृश्य अवलोकन गर्न पाइन्छ । तामाकोसी नदी, अर्गानिक लोकल खाना, मनोरम दृश्य, झरना र स्थानीय संस्कृतिले यात्रालाई  अविस्मरणीय बनाउँछ । 

कसरी पुग्ने ? 

पहिलो दिन : काठमाडौंबाट झन्डै पाँच घन्टामा चरिकोट पुगिन्छ । कालोपत्रे बाटो रहेकाले आफ्नै बाइक वा निजी सवारीमा जान सकिन्छ । चरिकोटमा प्रशस्त होटेलहरू पाइन्छन् । 

दोस्रो दिन : बिहानै उठेर दोलखा भीमसेन दर्शन गर्ने अनि खाना खाएपछि एक घन्टा ३० मिनेट ओरालो पैदल यात्रा गरेर सोक्ला रक स्पट पुगिन्छ । दिनभर क्लाइम्बिङमा रमाएर बेलुकी होम स्टेमा वास बस्न सकिन्छ । 

तेस्रो दिन : बिहानको नास्तापछि दुई घन्टा उकालो पैदल यात्रापश्चात् दोलखा बजार आइपुगिन्छ । खानापछि बस चढेर वा निजी सवारीमा काठमाडौं फर्कन सकिन्छ । 

साहसिक खेल
चट्टान आरोहण गर्ने कला नै ‘रक क्लाइम्बिङ’ हो । यसले रोमाञ्चकारी साहसिक अनुभव दिलाउँछ । नयाँ उत्सुकता जगाउँछ र मानसिक रूपमा फ्रेस राख्छ । निष्क्रिय युवाहरूलाई पनि सक्रिय जीवन जिउनका लागि प्रेरित गर्छ । डरको सामना गर्न सिकाउँछ । मानिसको मस्तिष्कमा विजयी भाव सञ्चार गराउँछ । 

रक र वाल क्लाइम्बिङलाई साहसिक पर्यटन तथा ओलम्पिक खेलमा समेत समावेश गरिएको छ । खासगरी युरोप, अमेरिका, क्यानडाजस्ता देशहरूमा रक र वाल क्लाइम्बिङ चर्चित छ । नेपालमा हिमाल आरोहण, पर्वतीय पथप्रदर्शक, आर्मी र स्काउटमा पनि रक क्लाइम्बिङ गतिविधि समावेश गरिने गरिएको छ । काठमाडौंको बालाजु, ललितपुको हात्तीवन, मुस्ताङको जोमसोमलगायत ठाउँहरूमा रक क्लाइम्बिङको प्रशिक्षण तथा गतिविधि हुने गरेका छन् ।

सुझावित समाचार