पछिल्लो समय निरन्तर गर्मी बढेसँगै मकवानपुरको हेटौँडाका विद्यालयहरूको पठनपाठन थप दुई दिनका लागि बन्द गर्ने निर्णय भएको छ।
हेटौँडा उपमहानगरपालिकाले शनिबार सरोकारवालहरूसँगको छलफलपछि नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन थप दुई दिनको लागि बन्द गर्ने निर्णय गरेको उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन्।
उपमहानगरको निर्णयसँगै नगरभित्रका विद्यालयहरू अब जेठ २९ गतेसम्मका लागि बन्द हुने भएका छन्। यसअघि अत्यधिक गर्मी बढेसँगै उपमहानगरपालिकाले एक हप्ताका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो।
उपमहानगरपालिकाको शिक्षा महाशाखा अधिकृत रमेश बिडारीले शनिबार एक सूचना जारी गर्दै नगरभित्रका विद्यालयहरूमा थप २ दिन पठपाठन बन्द गर्ने निर्णय भएको जानकारी गराएका छन्। सूचनाअनुसार जेठ २९ गतेसम्म विद्यालयहरू बन्द रहने र त्यसपछि विद्यालयहरूले बिहानको समय वा अनुकूल समयमा पठनपाठनको व्यवस्था मिलाउन भनिएको छ।