नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा देशहितको पक्षमा बोल्न नसकेको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित पार्टीनिकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै उनले वर्तमान सरकारलाई नालायकको संज्ञा दिँदै देशकै लागि दुर्भाग्य भएको बताए। प्रधानमन्त्री दाहालले भारतसँग आफ्नो देशको पिरमर्कासमेत राख्न नसकेको भन्दै ओलीले आलोचना गरे।
‘नेपालको दशा बिग्रिएकै हो। नेपालमा दुर्दिन छाएकै हो। नेपालको भूमिमा ग्रहण लागेकै हो। यस्ता-यस्ता सरकार बनेका छन, जसले देशको बारेमा चुइक्क बोल्न सक्दैन। जसले राष्ट्रिय हितको रक्षाका सन्दर्भमा एउटा केही पनि गर्न सक्दैन। विदेश भ्रमणमा जान्छ, एउटा मित्र राष्ट्रको भ्रमणमा जान्छ। मित्रसँग आफ्ना पिरमर्काका कुरा पनि गर्न सक्दैन। मलाई यस्तो पर्यो पनि भन्न सक्दैन। यस्ता नालायक सरकारहरू बन्नु भनेको देशको दुर्भाग्य हो,’ उनले भने।
प्रधानमन्त्री दाहालले फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माण कार्य भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको ओलीको आरोप छ। वर्तमान सरकारसँग विकासको कुनै योजना नभएको भन्दै उनले यही सरकारका कारण मुलुकमा ग्रहण लागेको बताए।