प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा शुक्रबार कम्पनीको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको हो।
साधारणसभाले समूह ‘क’ संस्थापक समूहका सेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्यामकृष्ण श्रेष्ठ र सुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ। कम्पनीमा शंकर गौतम तथा दीपक पाण्डेय सर्वसाधारण सेयरधनीहरूको तर्फबाट चौथो वार्षिक साधारणसभाबाटै सञ्चालकमा रहँदै आएका छन्।
साधारणसभाले ९.८० प्रतिशत सेयर लाभांश र ०.५१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी जम्मा १०.३१ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ। त्यसैगरी, कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुभाष अमात्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष ०७७/७८ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसमेत पारित गरेको छ।
साधारणसभाले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच १ः१ सेयर अनुपातमा हुने मर्जर प्रक्रियालाई स्वीकृति प्रदान गरेको छ। साथै, मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राख्न पनि स्वीकृति प्रदान गरेको छ।