लामो समयदेखि विद्यालयमा कार्यालय सहयोगी र सहायक लेखाको रूपमा काम गरिरहेका विद्यालय कर्मचारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएपछि दैलेखका अधिकांश विद्यालयमा ६ दिनदेखि विद्यार्थीले दिवाखाजा खान पाएका छैनन्।
दैलेख जिल्लाभरका ८० जना कर्मचारी आन्दोलनका लागि विगत ६ दिनदेखि सदरमुकाम दैलेख बजार आएका छन्। दिनहुँ शिक्षा तथा समन्वय एकाइमा धर्ना गरिरहेका कर्मचारीले आज दैलेख सदरमुकाममा नारा–जुलुससहित परिक्रमा गरेका छन्।
चर्को गर्मी छ, कतिपय विद्यालयमा पानी टाढाबाट बोकेर विद्यार्थीलाई खुवाउनुपर्ने अवस्था छ, त्यो काम विद्यालय कर्मचारीको हो।
विद्यार्थीलाई दैनिक दिवाखाजा खुवाउनुपर्छ, तर कर्मचारी आन्दोलनमा उत्रेपछि अधिकांश विद्यालयमा विद्यार्थीले पानी र दिवाखाजा खान नपाएको शिक्षकले गुनासो गरेका छन्। केही स्थानमा शिक्षक आफैँ मिलेर खाजा खुवाएका छन्, कतिपयमा समस्या छ।
कर्मचारीलाई स्थायी गर्नुपर्ने, दरबन्दी कायम गरेर निजामती कर्मचारी सरहको सुविधा दिनुपर्ने, उमेरहद पुगेकालाई केही राहत दिएर घर पठाउनुपर्नेलगायतका माग राखेर कर्मचारीले देशैभर आन्दोलन गरिरहेको जिल्ला कार्य समितिका अध्यक्ष रमेश बिसीले जानकारी दिएका छन्।