सरकार छोड्नुपरे परोस्, अन्यायपूर्ण बजेट पास हुन दिँदैनौँ : राजेन्द्र पाण्डे

शुक्रबार, २६ जेठ, २०८०
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अहिलेकै अवस्थामा बजेट पास हुन नसक्ने बताएका छन्। 

शुक्रबार काठमाडौंमा भएको पार्टीनिकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले वर्तमान बजेट असमानता र अन्यायपूर्ण रहेको भन्दै यथास्थितिमा कुनै पनि हालतमा बजेट पास हुन नदिने स्पष्ट पारे। 

उनले एक सय १० करोड डडेलधुरा,  ५५ करोड गोरखा र ७०–७५ करोड नुवाकोटमा गरी कुल दुई सय ३२ करोड बजेट छुट्याइएको र बाँकी ७४ जिल्लामा दुई सय ६८ करोड बजेट छुट्याइएको भन्दै यो कुनै पनि अवस्थामा सह्य नहुने चेतावनी दिए। 

उनले १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने बजेट आफू र आफ्ना पार्टीलाई स्वीकार्य नहुने बताए। यथास्थितिमा बजेट पास गर्न नदिने र त्यसको सजाय सरकार छोड्नुपर्ने भए पनि पार्टी तयार रहेको बताए। 

उनले भने, ‘हामीले समाजवादउन्मुख अर्थव्यवस्था निर्माण गर्ने भनेका छौँ। अहिले हामीले बजेटबारे कडाइका साथ भनेका छौँ । यही अवस्थामा यही यथास्थितिमा बजेट पास हुँदैन। हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ।’

सुझावित समाचार