जहाज किन्न नदिन पापी मनहरूले घेराबन्दी गरिरहेका छन् : मन्त्री किराँती

बिहिबार, २५ जेठ, २०८०
डिजिटल संस्करण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूविरुद्ध पापी मनहरूले घेराबन्दी गरेको आरोप लगाएका छन्। खोटाङको दिक्तेल बजारमा जडान गरिएको अग्नि नियन्त्रक यन्त्र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीनवटा जहाज किन्ने प्रक्रिया थालेपछि आफूविरुद्ध घेराबन्दी भइरहेको दाबी गरे।

‘घाटामा गएको नागरिक उड्ययन प्राधिकरणलाई आफूले मन्त्रालय सम्हालेको करिब तीन महिनामै रु चार अर्ब ऋण घटाएको छु। अहिले हामी तीनवटा जहाज किन्ने प्रक्रियामा छौँ। तर, हवाई जहाज किन्न नदिन संसारभरका पापी मनहरूले घेराबन्दी गरिरहेका छन्,’ मन्त्री किराँतीले भने, ‘तपाईंहरूको साथ पाएँ भने प्रक्रिया र प्रणालीमा पारदर्शी तरिकाले पाँच पैसा घोटाला हुन नदिने गरी जहाज ल्याउँछौँ।’

मन्त्रालयले खरिद गरेर ल्याउने दुईवटा जहाज पश्चिम नेपालमा र एउटा पूर्वी नेपालको विराटनगरमा राखेर उडान भर्ने व्यवस्था मिलाइने मन्त्री किराँतीले जानकारी दिए। ‘हवाई जहाज अभावमा गौचरणमा परिणत भएका देशका २२ वटा विमानस्थलमा एकजना सुत्केरी भए पनि उडान भर्ने गरी तयारी थालिएको छ,’ उनले भने, ‘म मन्त्री भएर जाँदा हवाई जहाज त बेहोस अवस्थामा भेन्टिलेटरमा सुतिरहेको रहेछ। त्यसलाई हामी उपचार गर्दै छौँ।’

जहाजमाथि ठूला भ्रष्टाचार हुँदा २२ वटा एयरपोर्ट गौचरणमा परिणत भएको उनको भनाइ छ। ‘पापीका आँखा लागे, लुट्नैसम्म लुटिए। खाने, पिउने र रमाउने ठाउँ त्यही मन्त्रालयलाई बनाए। अब यसरी चल्न दिन्नँ,’ किराँतीले भने। खोटाङको तीनवटै विमानस्थलमा नियमित उडान-अवतरण गर्ने गरी तयारी थालिएको उनले जानकारी दिए।

सुझावित समाचार