राउटे समुदायका ज्येष्ठ सदस्य कर्णबहादुरको ९४ वर्षको उमेरमा निधन

बिहिबार, २५ जेठ, २०८०
डिजिटल संस्करण

राउटे समुदायको संख्या एक सय ४१ मात्र

लोपोन्मुख राउटे समुदायका ज्येष्ठ मानिएका कर्णबहादुर शाहीको निधन भएको छ । ९४ वर्षीय कर्णबहादुर शाहीको निधन भएको हो । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायहरूले अहिले दैलेखको भैरवी गाउँपालिका– १ दारेघाटमा बसोवास गर्दै आएका छन् । 

दारेघाटमै उनको मृत्यु भएको राउटे परियोजनाका सहजकर्ता लालबहादुर खत्रीले जानकारी दिए । राउटेको आफ्नै संस्कारअनुसार शाहीको शवलाई चिहानमा गाडिएको छ ।

ज्येष्ठ सदस्यको मृत्युपछि राउटे समुदायमा बालबालिका, युवा र वृद्ध गरेर एक सय ४१ जना मात्र रहेका छन् । दैलेख, सुर्खेत, सल्यानलगायतका जिल्लामा धेरैजसो बसोवास गर्ने यो समुदायलाई ०६३ सालदेखि सहजताका लागि सबैलाई सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरिएको थियो । 

दैलेखको गुराँस गाउँपालिकाले उनीहरूको बस्ती सरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । पछिल्ला दिनहरूमा अत्यधिक मदिरा सेवनका कारण राउटे समुदायहरू एकपछि अर्को गर्दै समस्यामा पर्दै आएका छन् । उनीहरूलाई पुरानै रहनसहनमा छोड्नुपर्ने आवाज उठ्दै आएको छ । 
 

सुझावित समाचार