संखुवासभाका पूर्वपत्रकार एवं राजनीतिकर्मी दिनेश खनाल मृत अवस्थामा फेला

बुधबार, २४ जेठ, २०८०
डिजिटल संस्करण
संखुवासभाका पूर्वपत्रकार एवं राजनीतिकर्मी दिनेश खनाल मृत अवस्थामा फेला

मृतक दिनेश खनाल

हृदयाघातको कारण मृत्यु भएको हुन सक्ने प्रहरीकाे अनुमान

संखुवासभाका पूर्वपत्रकार तथा राजनीतिकर्मी दिनेश खनाल मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नो घरदेखि तल रहेको बाटोमा मृत अवस्थामा फेला परेका हुन् । के कारणले उनको मृत्यु भएको हो भन्नेबारेमा केही खुलेको छैन । पोस्टमार्टमपछि उनको मृत्युको कारण खुल्नेछ ।

घरदेखि केही तल रहेको खेतबाट घर फर्किने क्रममा बाटो लडेको अवस्थामा छिमेकीले उनलाई भेटेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको थियो । अहिले उनको शव जिल्ला अस्पताल खाँदबारीमा पोस्टमार्टमका लागि राखिएको छ । पोस्टमार्टमपछि आजै उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । 

खाँदबारी नगरपालिका– ३ झरीथुम्का घर भएका खनालको मंगलबार साँझ खेतबाट घर फर्किने क्रममा निधन भएको हो । उनको हृदयाघातको कारण मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । शरीरको कुनै पनि भागमा चोट नदेखिएकाले हृदयघातको कारणले मृत्यु भएको हो कि भन्ने प्रहरीको अनुमान छ । 

५० वर्षीय खनालले संखुवासभामा लामो समयदेखि सक्रिय पत्रकारिता गरेका थिए । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी संखुवासभाका जिल्ला कोषाध्यक्षसमेत हुन् । एक छोरा र श्रीमती रहेका खनाल राजनीतिमा समेत सक्रिय थिए । 

See More On

सुझावित समाचार