नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा दुई सय मेगावाट बिजुली बिक्री गर्ने गरी भारतसँग मध्यकालीन विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गर्ने भएको छ । यही बर्खादेखि भारतमा सोबराबरको बिजुली बिक्री गर्ने गरी प्राधिकरणले भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)लाई पिपिएको मस्यौदा पठाएको हो ।
अब भारत सरकारको आन्तरिक निकायले उक्त मस्यौदा पारित गर्नुपर्नेछ । त्यसपछि एनभिभिएनसँग पिपिए सम्झौता गर्ने प्राधिकरणको तयारी छ, जुन सम्झौताको अवधि मध्यकालीन अर्थात् पाँच वर्षको हुनेछ । यही बर्खादेखि विद्युत् बिक्री गर्ने गरी पिपिए तयारी अघि बढाएको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।
‘भारतमा मध्यकालीन रूपमा विद्युत् बिक्री गर्ने गरी त्यहाँको विद्युत् व्यापार गर्ने कम्पनी एनभिभिएनलाई पिपिएको प्रस्ताव पठाएका छौँ । अब छिट्टै पिपिए सम्झौता पनि हुनेछ,’ उनले भने, ‘यसअन्तर्गत यही बर्खादेखि विद्युत् निर्यात गर्ने योजना छ ।’हालैसम्पन्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा मध्यकालीन र दीर्घकालीन विद्युत् व्यापार गर्ने समझदारी भएको थियो । साथै, आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् किन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेका थिए । सोहीअन्तर्गत प्राधिकरणले पहिलो चरणमा दुई सय मेगावाट बिजुली बिक्री गर्ने गरी मध्यकालीन (पाँच वर्षको) पिपिए गर्न लागेको हो ।
स्रोतका अनुसार यो सम्झौता प्रधानमन्त्रीको भारत भ्रमणमै गर्ने योजना थियो । तर, भारतीय पक्षको आन्तरिक तयारी नपुग्दा त्यो सफल हुन सकेन । ‘प्रधानमन्त्रीकै भारत भ्रमणमा सम्झौता गर्ने तयारी थियो । तर, यससम्बन्धी मस्यौदा भारतको आन्तरिक निकायबाट पारित गर्न समय पुगेन,’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने, ‘यद्यपि, अब प्राधिकरण र भारतको एनभिभिएनले मध्यकालीन तथा दीर्घकालीन पिपिए गर्न सक्छन् ।’
प्राधिकरणले बर्खामा भारतमा विद्युत् बिक्री गर्छ भने हिउँदमा आयात गर्दै आएको छ । नदी प्रवाहमा आधारित आयोजना बढी हुँदा नेपालमा बर्खामा बढी र हिउँदमा कम विद्युत् उत्पादन हुन्छ । सोही अवस्थालाई दृष्टिगत गर्दै तत्काललाई बर्खामा मात्रै विद्युत् निर्यात गर्ने गरी टेक अर पे (लेऊ वा तिर) मोडेलमा पिपिए गर्न लागिएको हो । यस मोडेलमा पिपिए गरेपछि खरिदकर्ता (भारत)ले विद्युत् किन्दिन भन्न पाउँदैन । साथै, बिक्रीकर्ता (प्राधिकरण)ले पनि तोकिएको अवधिमा अनिवार्य रूपमा विद्युत् उपलब्ध गराउनुपर्नेछ । नेपालमा विद्युत् उत्पादन् बढ्दै गएपछि हिउँदमा पनि बिक्री गर्ने गरी छुट्टै पिपिए गरिने स्रोतको भनाइ छ ।
स्रोतका अनुसार प्रतियुनिट ५ भारु (८ नेपाली रुपैयाँ)भन्दा बढीको दरमा पिपिए गर्ने तयारी छ । अहिले प्रधिकरणले बर्खाको विद्युत् प्रतियुनिट चार रुपैयाँ ८० पैसामा खरिद गर्दै आएको छ । त्यसअनुसार उक्त दर उपयुक्त नै हुने स्रोतको
दाबी छ ।
अहिले प्राधिकरणले भारतको बिहारसँग प्रतियुनिट ७.२१ भारुमा विद्युत् आदान–प्रदान गर्दै आएको छ । तर, मध्यकालीन तथा दीर्घकालीन पिपिएमा त्यसबराबरको रेट पाउन गाह्रो हुने स्रोतको भनाइ छ । यद्यपि, प्राधिकरणले भारतको इनर्जी मार्केटमा प्रतियुनिट १२ भारुसम्ममा विद्युत् बिक्री गर्दै आएको छ ।
अहिले नेपाल–भारतबीच अल्पकालीन रूपमा विद्युत् व्यापार हुँदै आएको छ । इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत दैनिक बिड गरेर प्राधिकरणले विद्युत् खरिद–बिक्री गर्छ । उक्त मोडेलमा भारतमा विद्युत् निर्यात गर्ने कार्यलाई निरन्तरता नै दिइनेछ । साथै, मध्यकालीन तथा दीर्घकालीन विद्युत् निर्यातलाई पनि सँगसँगै अघि बढाइने प्राधिकरणको योजना छ ।
प्राधिकरणले यस वर्ष १२ सय मेगावाटसम्म विद्युत् भारतमा निर्यात गर्ने योजना बनाएको छ । त्यसमा दुई सय मेगावाट मध्यकालीन रूपमा र अन्य बिजुली एक्सचेन्ज मार्केटमै बिक्री गरिने प्राधिकरणको तयारी छ । नेपाल र भारतबीच सन् २०१४ मा विद्युत् व्यापार सम्झौता (पिटिए) भएको थियो । सोही सम्झौताअनुसार नै नेपाल र भारतबीच ऊर्जामा सहकार्य हुँदै आएको छ ।