प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

शुक्रबार, १९ जेठ, २०८०
डिजिटल संस्करण

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दौर प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले इन्दौरमा अवस्थित महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा मध्यप्रदेशका राज्यपाल मंगुभाइ छगनभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । स्वच्छ भारत अभियानअन्तर्गत इन्दौर म्युनिसिपल कर्पोरेसनले सम्पादन गरेको कामबारे उनले जानकारी लिने कार्यसूची छ ।  

फोहाेर व्यवस्थापनमा सकारात्मक परिणाम देखिएको इन्दौरको असल र सफल अभ्यासको अवलोकनपछि प्रधानमन्त्री प्रचण्डको सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले रात्रिभोजको आयोजना गर्नेछन् ।  

शनिबार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलले ‘टिसिएस इन्फोसिस’ विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । बिहीबार प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका अलावा दुई देशबीच महत्वपूर्ण विषयमा सहमति तथा समझदारी भएको थियो । प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।     

   
 

See More On

सुझावित समाचार