सहमति तथा सम्झौतालाई अन्तिम रूप दिने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चारदिने औपचारिक भ्रमणको पूर्वसन्ध्यामा बुधबार दिल्लीमा नेपाल र भारतका अधिकारीहरूबीच द्विपक्षीय एजेन्डामा छलफल हुँदै छ । प्रधानमन्त्री प्रचण्ड आउनु अघिल्लो दिन मंगलबार दुई देशबीच ऊर्जा, वाणिज्य र व्यापारलगायतका एजेन्डामा छलफल गर्न नेपालको ‘एडभान्स’ टोली दिल्ली आउँदै छ ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच छलफलको एजेन्डा तय गर्न दुई देशका कूटनीतिक अधिकारीहरूबीच छलफल हुन लागेको हो । दुई देशका अधिकारीहरूबीच मुख्यतया कनेक्टिभिटी, विकास साझेदारी र जलविद्युत् विकासबारे छलफल हुनेछ ।
परराष्ट्र मन्त्रालयमा दक्षिण एसिया डिभिजन प्रमुख रामप्रसाद सुवेदीको नेतृत्वमा सरोकारवाला मन्त्रालयका सहसचिवहरूको टोलीले मंगलबार साँझ र बुधबार बिहान भारतीय टोलीसँग छलफल गर्नेछ । नेपाली टोलीमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा तथा वाणिज्य, ऊर्जा मन्त्रालयका सहसचिवहरू हुनेछन् ।
नेपालले भारतसँग मागेको हवाई रुट, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह, वीरगन्जको एकीकृत जाँच चौकी (आइसिपी) उद्घाटन, भारतीय सहयोगमा क्रिकेट रंगशाला निर्माण, पानीजहाज, कृषिलगायतका विषयमा पनि छलफल हुनेछ ।
दिल्लीस्थित जानकारहरू के भन्छन् ?
जवाहरलाल नेहरू विश्वविद्यालयकी प्राध्यापक डा. संगीता थपलियाले यो भ्रमणले दुई सरकारबीच ऊर्जा व्यापार, पूर्वाधार, कनेक्टिभिटीमा हुने छलफलले सम्बन्ध थप सुदृढ गर्ने बताउँछिन् ।
‘नेपाल र भारतबीचको विद्युत् व्यापार दुई देशको सफलताको कथा हो । गत वर्ष नेपालले भारतलाई विद्युत् बिक्री गरेर ११ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । यसपटक हुने भनिएको ऊर्जा सम्झौताले ऊर्जा व्यापारलाई थप बढवा दिनेछ । नेपालबाट भारत हुँदै बंगलादेशसँग विद्युत् व्यापार सम्झौता भयो भने यो ऊर्जा व्यापारको क्षेत्रमा गेम चेन्जर हुनेछ,’ उनले भनिन् ।
नेपाल–भारत सम्बन्धका जानकार एवं पूर्वराजदूत प्रोफेसर एसडी मुनीले नेपाल–भारत सम्बन्ध सही ठाउँमा रहेको र भारतका लागि पनि अनुकूल नै रहेको बताए । ‘नेपालको राजनीतिक परिवेश अस्थिर छ, त्यसकारण यो भ्रमणमा ठूलो फैसला नहोला । प्रधानमन्त्रीको भ्रमणको एउटा पक्ष छँदै छ, अहिले कांग्रेसको विश्वसनीयतामा जसरी ह्रास आएको छ, यसले भारतमा चिन्ता थपेको छ जस्तो लाग्छ,’ उनले भने ।
नेपाल–भारत सम्बन्धका जानकार पूर्वमेजर जनरल अशोक मेहताको भनाइमा भ्रमणलाई लिएर नेपालमा जति उत्साह छ, भारतमा त्यसअनुसारको उत्साह भने छैन । उनका अनुसार अहिले भारतीय नेतृत्व जी–२० र जी–७ मा बढी व्यस्त छ । ‘हाम्रो प्राथमिकतामा छिमेक छँदै छ, तर अहिले राजनीतिक नेतृत्वको व्यस्तता छिमेकभन्दा बाहिर धेरै छ,’ उनी भन्छन्, ‘नेपालको राजनीतिक स्थिरताका लागि भारतको रुचि र इन्गेजमेन्टको तह राजनीतिक तहमा बढ्नुपर्छ । प्रधानमन्त्री, विदेशमन्त्रीको तहमा भ्रमण भइरहनुपर्छ । यो भ्रमणले राजनीतिक क्रियाकलाप बढाउनेछ, भारतको रुचि पनि देखिनेछ । जसबाट नेपालको स्थिरता र सरकारको स्थिरतामा पनि योगदान पुग्नेछ । भारतले नेपालमा राजनीतिक प्रोफाइल बढाउनुपर्छ ।’
भारतका समाजवादी नेता एवं नेपाल–भारत सम्बन्धका जानकार सुधीन्द्र भदोरियाले प्रधानमन्त्री प्रचण्ड भारतका महत्वपूर्ण मित्र मात्र नभएर दक्षिण एसियाकै महत्वपूर्ण नेता भएकाले यो भ्रमणले नेपालमा शान्ति, लोकतन्त्र, स्थिरता र आर्थिक समृद्धिका लागि योगदान गर्ने टिप्पणी गरे ।
नेपाल–भारत सम्बन्धका जानकार एवं भारतको चिन्तन संस्था एमपिआइडिएसएका अध्येता डा. निहार नायकको बुझाइमा नेपालका हरेक प्रधानमन्त्रीको भारत भ्रमणको खास महत्व हुने गरेको छ ।
भारतका सुरक्षाविज्ञ नरेशकुमार सुद भन्छन्, ‘नेपालको उच्चतम विकास र राजनीतिक स्थिरता यहाँको सुरक्षा समुदायको चाहना हो । बलियो र आत्मनिर्भर नेपालले भारतको सुरक्षा हित सुरक्षित गर्छ । नेपालको पर्यटन, ऊर्जा र पानीको सर्वोत्तम विकासमा दुई देशबीच सहकार्य बढ्नुपर्छ । खुला सिमाना गलत तत्वहरूले दुरुपयोग नगरुन् भन्ने भारतको चासो पहिला पनि थियो, अहिले पनि छँदै छ ।’
भ्रमणको पूर्वसन्ध्यामा भारतीय संसद्मा नेपाललाई झस्काउने नक्सा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उद्घाटन गरेको नयाँ संसद् भवनमा अंकित अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेटिएको पाइएको छ । यसअघि भारतले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई एकतर्फी रूपमा आफ्नो नक्सामा समावेश गरेको थियो । अहिले आधुनिक संसद् भवन बनाएको भारतले अखण्ड भारतको नक्सामा सिद्धार्थ गौतम (बुद्ध) जन्मे, हुर्केको लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारतको नक्सामा समावेश गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपाललाई झस्काउने गरी नेपाली भूभागमा पर्ने लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारत भन्दै नक्सामा समावेश गरेको छ । यसलाई लिएर परराष्ट्र मन्त्रालयका अधिकारी नै आश्चर्यमा परेका छन् । अखण्ड भारत भनेर इतिहास दर्साउन खोजिएको हो कि भविष्य हो भनेर स्पष्ट भएपछि प्रतिक्रिया दिने परराष्ट्र अधिकारीको तयारी छ ।
अखण्ड भारत नक्सामा पाकिस्तानको तक्षशिलालाई पनि समेटिएको छ । भारतका केन्द्रीय संसदीय मामिलामन्त्री प्रह्लाद जोशीले अखण्ड भारतको संकल्प स्पष्ट रहेको उल्लेख गरेका छन् । भाजपा लोकसभा सांसद मनोज कोटकले नयाँ संसद्मा अखण्ड भारतको नक्साले शक्तिशाली र आत्मनिर्भर भारतको प्रतिनिधित्व गरेको उल्लेख गरेका छन् । भारतीय सञ्चारमाध्यमले भने प्राचीन समयका महत्वपूर्ण साम्राज्यका सहर देखाइएको अखण्ड भारत विभाजन पहिलेको नक्सा भएको उल्लेख गरेका छन् ।