दैलेखमा पहिलोपटक रेन्बो ट्राउट माछापालन सुरु

आइतबार, १४ जेठ, २०८०
डिजिटल संस्करण

दैलेखको नारायण नगरपालिका– १० मा रेन्बोट्राउट माछापालन सुरु भएको छ। हावापानी मिल्ने भूगोलको रूपमा रहेको वडा नं. १० भवानीमा उक्त माछापालन सुरु गरिएको हो। 

संघ सरकारको नवप्रवर्द्धन कार्यक्रम र नारायण नगरपालिकाको साझेदारीमा पहिलोपटक रेन्बो ट्राउट माछापालन सुरु गरिएको हो। 

स्थानीय तीनजना किसान पोखरामा गएर वातावरणको अध्ययन र अनुसन्धान गरिसकेपछि परीक्षणका रूपमा पहिलोपटक पाँच हजार माछाको भुरा उत्पादनका लागि हालिएको छ। 

स्थानीयस्तरमा माछाका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणसँगै माछा ल्याएर पालन सुरु गरिएको हो। दुई महिनाअघि पोखराबाट ल्याएका ५ हजार रेन्बो ट्राउट माछाका भुराहरूमध्ये केही माछाका भुराहरू मरेको भए पनि बचेका माछाहरूबाट राम्रो उत्पादन लिन सकिने आशा गरिएको छ। 

चिसो पानी, सफा पानी, अक्सिजन पूर्ण रूपमा प्राप्त भएको स्थानमा रेन्बो ट्राउट माछा उत्पादन हुने भएपछि माछापालन सुरु गरिएको हो।

रेन्बो ट्राउट माछा उत्पादन सफल भए दैलेखको वडा नं. १० भवानी र वडा नं. ११ को राइलीमा थप उत्पादनको काम गरिने नारायण नगरपालिका पशु स्वास्थ्य शाखाका प्रमुख चित्र प्याकुरेलले जानकारी दिएका छन्।  

प्रतिकेजी एक हजार ६ सय रुपैयाँमा बिक्री हुने उक्त माछा स्वास्थ्यवर्द्धक रूपमा लिइन्छ। हावापानी मिल्ने स्थानमा परीक्षणका रूपमा पहिलोपटक उत्पादन सुरु गरिएको र उत्पादन प्रभावकारी हुन सकेको खण्डमा सम्भावना भएका स्थानमा किसानलाई घरमै माछापालन व्यवसायमा लगाउँदै आर्थिक अवस्था सुधारको अभियान थालनी गर्ने नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले जानकारी दिएका छन्।
 

See More On

सुझावित समाचार