भारतमा विद्युत् निर्यात सुरु : प्रतियुनिट सात भारुमा शनिबार सय मेगावाट विद्युत् बिक्री

आइतबार, १४ जेठ, २०८०
डिजिटल संस्करण

असारपछि भने २४सै घन्टा विद्युत् निर्यात गर्ने प्राधिकरणको तयारी 

खोलामा पानीको बहाब बढेर विद्युत्को उत्पादन बढेपछि नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली निर्यात सुरु गरेको छ । प्राधिकरणले शनिबार बिहान ६ घन्टा (१२ बजदेखि ६ बजे)सम्म प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत विद्युत् बिक्री गरेको हो । सो अवधिमा ६ सय मेगावाट आवर (१०० मेगावाट) विद्युत् निर्यात भएको छ । प्रतियुनिट सात भारुमा विद्युत् निर्यात भएको छ । योसँगै यो वर्ष पनि भारतमा विद्युत् निर्यात हुन थालेको छ ।  

विशेष गरी देशमा प्रि–मनसुन भित्रिएपछि नदीमा पानीको बहाब बढेको छ । त्यसले विद्युत् उत्पादन बढाएपछि निर्यात गर्ने विद्युत् पनि पुगेको हो । प्राधिकरणका अनुसार अहिले विद्युत्को उत्पादन १३ सय मेगावाटभन्दा माथि छ । 

नेपालमा अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित छन् । त्यो अवस्थामा खोलामा पानी बढी हुँदा विद्युत् उत्पादन पनि बढ्छ । खोलामा पानीको बहाब घटेपछि भने विद्युत् उत्पादन पनि कम हुन्छ । सोहीअनुसार बर्खामा पूर्ण क्षमतामै विद्युत् उत्पादन हुन्छ, त्यसवेला भारतमा पनि विद्युत् निर्यात गर्न पुग्छ । हिउँदमा भने खोलामा पानीको बहाब घट्दा विद्युत् उत्पादन पनि घट्छ । त्यसवेला स्वदेशी माग धान्न भारतबाट नै आयात गर्नुपर्छ ।

हिउँद लागेसँगै गत ४ पुसदेखि भारतबाट विद्युत् आयात गरिएको थियो । तर, अहिले स्वदेशी उत्पादन बढेपछि आयात पनि बन्द गरिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए । 

‘अहिले खोलामा पानीको बहाब बढ्दा स्वदेशी माग धान्न पुग्ने गरी नै विद्युत् उत्पादन हुन थालेको छ । त्यसपछि भारतबाट विद्युत् आयात गर्न छाडेका छौँ,’ उनले भने, ‘साथै, यहाँ बढी भएको बिजुली भारतमा बिक्री गर्न पनि थालेका छौँ । यसपालि पहिलोपटक शनिबार बिहान ६ घन्टा बिजुली निर्यात गरेका छौँ । त्यसभन्दा यताको उत्पादनले स्वदेशी माग धान्न ठिक्क भएको छ । यदि, उत्पादन बढ्यो भने निर्यात पनि गर्छाैँ ।’ रातको समयमा नेपालमा विद्युत्को माग कम हुन्छ । त्यसले गर्दा निर्यात गर्न पुगेको हो । अहिले दैनिक विद्युत् उत्पादन १३ सय मेगावाटभन्दा माथि पुगेको छ । तर, रातको समयमा विद्युत्को माग १२ सय मेगावाट हाराहारी मात्रै हुने गर्छ । सम्भवतः अब केही दिन रातको समयमा निरन्तर विद्युत् निर्यात गर्न सकिने प्राधिकरणले जनाएको छ । असारपछि भने २४सै घन्टा विद्युत् निर्यात हुने प्राधिकरणका अधिकारीहरू बताउँछन् । 

प्राधिकरणले गत वर्ष १९ जेठबाट भारतीय बजारमा व्यापारिक रूपमा विद्युत् निर्यात गर्न थालेको थियो । जुन पुस ३ गतेसम्म कायम रहेको थियो । त्यस अवधिमा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँबराबरको विद्युत् निर्यात गरिएको थियो । त्यसवेला प्राधिकरणले चार सय मेगावाट हाराहारी विद्युत् निर्यात गरेको थियो । 

यसपालि पनि प्राधिकरणले १३ जेठबाट विद्युत् निर्यात गर्न थालेको हो । यो वर्ष भने १२ सय मेगावाट हाराहारीमा विद्युत् निर्यात गर्ने प्राधिकरणको लक्ष्य छ । भारतले चार सय ५२ मेगावाटका विभिन्न आयोजनाको विद्युत् आफ्नो खुला बजारमा बिक्री गर्न प्राधिकरणलाई स्वीकृति दिइसकेको छ । साथै, प्राधिकरणले चार सय ५६ मेगावाटलगायतका विभिन्न आयोजनाको विद्युत् बिक्री गर्ने स्वीकृति दिन पनि भारतमा प्रस्ताव पठाएको छ । नेपालले भारतमा विद्युत् बिक्री गर्न निश्चित आयोजनालाई स्रोत मानेर स्वीकृति लिनुपर्ने हुन्छ । सोहीअनुसार पठाएको प्रस्ताव स्वीकृत भएपछि प्राधिकरणले विद्युत् निर्यात गर्न पाउँछ । 

गत वर्ष यसै अवधिमा विद्युत्को जडित क्षमता दुई हजार मेगावाट हाराहारी थियो । तर, यसपालि विद्युत्को जडित क्षमता २७ सय मेगावाट हाराहारी पुगेको छ । चालू आवको अन्त्यसम्म विद्युत् जडित क्षमता दुई हजार आठ सय मेगावाट पुग्ने अनुमान प्राधिकरणको छ । त्यसमा सय मेगावाटबराबरको कुलेखानी जलाशययुक्त आयोजना सञ्चालन हुँदैन । ५३ मेगावाटको डिजेल पावर प्लान्ट पनि बन्द हुन्छ । यसका अलाबा केही आयोजनाहरूलाई नियमित तथा आकस्मिक मर्मत गर्नुपर्ने हुन्छ । त्यसअनुसार बर्खामा २६ सय मेगावाट हाराहारी विद्युत् उत्पादन हुन्छ । तर, नेपालको औसत माग भने १३ मेगावाट हाराहारी मात्रै छ । पिक आवरमा मात्रै एक हजार सात सय ५० मेगावाटको विद्युत् माग हुने हो । आधार माग (न्यूनतम माग) त एक हजार दुई सय ७५ मेगावाट रहेको छ । त्योअनुसार यो वर्ष एक हजार दुई सय मेगावाट (पिक टाइममा बाहेक) सम्म विद्युत् निर्यात गर्न सकिने प्राधिकरणको दाबी छ ।  

हाल नदी प्रवाहमा आधारित आयोजनाबाट सात सय ३०, कुलेखानीबाट एक सय मेगावाट गरी आठ सय ३० मेगावाट हाराहारीमा बिजुली उत्पादन भएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका ठूला आयोजना तामाकोसी, कालीगण्डकीलगायत आयोजनाबाट गरी दुई सय ३० मेगावाट हाराहारीमा मात्रै विद्युत् उत्पादन भइरहेको छ भने बाँकी निजी क्षेत्रको उत्पादन छ । हालै राष्ट्रिय प्रणालीमा जोडिएको सुपर दोर्दीको उत्पादन क्षमता ५४ मेगावाट भए पनि उत्पादन भने १८ मेगावाटमा सीमित छ । 

प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा दैनिक बिड गरेर अर्थात् प्रतिस्पर्धामार्फत विद्युत् खरिद–बिक्री गर्दै आएको छ । त्यसमा विद्युत्को मूल्य माग र आपूर्तिको सिद्धान्तअनुसार फरक–फरक समयका लागि फरक–फरक मूल्यमा बिड भइरहेको हुन्छ । त्यहाँ विद्युत्को अधिकतम मूल्य भने प्रतियुनिट १२ भारु तोकिएको छ ।

सुझावित समाचार