भैरहवा विमानस्थलको सेवा शुल्कमा थप एक वर्ष छुट

२९ जेठदेखि नेवानिको मलेसिया–भैरहवा उडान, भाडा साढे ११ हजार

शुक्रबार, १२ जेठ, २०८०
डिजिटल संस्करण

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाले थप एक वर्षसम्म विभिन्न सेवा शुल्क छुट पाउने भएका छन् । सरकारले ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सुरक्षा जाँच र ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा दिइएको छुट थप एक वर्षसम्म निरन्तरता दिने निर्णय गरेको हो । 

२ जेठ ०७९ देखि सञ्चालनमा आएको विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न भन्दै ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सुरक्षा शुल्कमा शतप्रतिशत र ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट दिइँदै आएको छ । गत १४ जेठदेखि लागू गरिएको छुट सुविधा यही शनिबार सकिँदै थियो । तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १३ जेठ ०८१ सम्म छुट सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय वायुसेवालाई सेवा शुल्कमा दिइएको छुट सुविधा थप एक वर्षसम्म निरन्तरता दिने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले बताए । भैरहवामा सेवा शुल्क छुट दिए पनि अन्तर्राष्ट्रिय वायुसेवा आकर्षित हुन सकेका छैनन् । विमानस्थल उद्घाटनकै दिनदेखि नै सातामा तीन उडान गर्दै आइरहेको कुवेतको जजिरा एयरवेजले पनि अहिले उडान रोकेको छ । ३१ अर्बभन्दा बढी लगानी भएको विमानस्थल सञ्चालनको पहिलो वार्षिकोत्सव मनाइरहँदा एउटै अन्तर्राष्ट्रिय उडान छैन ।

नेपाल वायुसेवा निगम (नेवानि)ले २९ जेठदेखि मलेसियाबाट भैरहवा नियमित उडान गर्न लागेको छ । न्यारोबडी एयरबस ३२० विमानबाट काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं सेक्टरमा चक्रिय उडान गर्न लागेको हो ।नेवानिले मलेसिया–भैरहवा–काठमाडौंका लागि टिकट बुकिङसमेत खुला गरेको छ । मलेसियाबाट भैरहवासम्मका लागि प्रतियात्रु भाडा ११ हजार चार सय ६१ र मलेसियाबाट भैरहवा हुँदै काठमाडौंसम्मको प्रतियात्रु १२ हजार तीन सय ४६ रुपैयाँ भाडा तोकिएको छ । 

नेवानिले सुरुमा सार्वजनिक गरेको भाडा पनि घटाएर बिहीबार नयाँ भाडादर सार्वजनिक गरेको हो । यसअघि मलेसिया–भैरहवा १२ हजार सात सय र मलेसिया–भैरहवा–काठमाडौं १४ हजार सात सय २० रुपैयाँ भाडा तोकिएको थियो । नेवानिको जहाज सोमबार साँझ ८ः५० बजे काठमाडौंबाट मलेसियातर्फ उड्नेछ भने मंगलबार बिहान ७ः३० बजे भैरहवामा अवतरण गर्नेछ । 

 अस्ट्रेलिया सीधा उडानको तयारी
नेपाल वायुसेवा निगमले काठमाडौंबाट अस्ट्रेलिया सीधा उडानको तयारी थालेको छ । अस्ट्रेलियाको सिड्नी विमानस्थलमा अवतरण गर्नका लागि स्लट पाइसकेको निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले बताए । ‘हप्ताको दुई दिन अस्ट्रेलिया उडान गर्न सिड्नी विमानस्थलमा स्लट पाइसकेका छौँ,’ उनले भने, ‘अब व्यावसायिक उडान सुरु गर्नका लागि थप प्रक्रियामा काम भइरहेको छ ।’

नेवानिले बुधबार र शनिबार काठमाडौंबाट अस्ट्रेलियाका लागि र बिहीबार र आइतबार अस्ट्रेलियाबाट काठमाडौं उड्नका लागि समय पाएको बताइएको छ । सिंगापुरमा टेक्निकल ल्यान्डिङ गरेर अष्ट्रेलिया उडानका लागि काम भइरहेको घिमिरेले बताए । ‘प्रक्रिया सुरु भइसकेको छ, उडान सुरु गर्न अझै केही समय लाग्नेछ,’ उनले भने ।

सुझावित समाचार