यस्तो हुनुपर्छ आगामी आर्थिक वर्षको बजेट

ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ भने पुँजीगत खर्च बढाएर तरलताको समस्या समाधान गर्नुपर्दछ

बिहिबार, ११ जेठ, २०८०
डिजिटल संस्करण

बजेटलाई राष्ट्रिय आय–व्ययको अनुमानित विवरणको रूपमा मात्र नलिएर यसलाई राजनीतिक तथा आर्थिक दस्तावेजको रूपमा लिइन्छ । सरकारले सञ्चालन गर्ने कतिपय कार्य यही बजेटबाट निर्देशित भएका हुन्छन् । जुन दल सरकारमा आउँछ, उसले जनतासँग गरेका प्रतिबद्धता बजेटमा समावेश गरेको हुन्छ र विकासका योजना तथा कार्यक्रम पनि बजेटअनुसार नै कार्यान्वयन गरिएका हुन्छन् ।

यसरी सत्तारूढ दलहरूले जनतासँग गरिएका वाचा बजेटका माध्यमबाट पूरा गरिने हुँदा बजेटलाई राजनीतिक दस्तावेजको रूपमा लिइएको हुन्छ । अर्कोतर्फ, बजेटले राजस्व, अनुदान, ऋणजस्ता आय र निकासा, खर्च तथा विभिन्न कोषको सञ्चालन तथा व्यवस्थापन गर्ने हुँदा यसलाई विकासको मेरुदण्डका रूपमा लिइन्छ । त्यसकारण प्रत्येक वर्ष संसद््मा पेस हुने बजेटबारे सर्वसाधारणको समेत चासो रहन्छ ।

आगामी आवको बजेट तर्जुमा गर्ने सम्बन्धमा राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको सीमाभित्र रहेर अर्थ मन्त्रालयले बजेट तयार गर्नुपर्दछ । मन्त्रालयले पनि विभिन्न विषयगत मन्त्रालयहरूलाई सोहीबमोजिम निर्देशन गर्छ । सबै मन्त्रालय, सरकारी निकायहरूले तयार गरेको बजेटलाई एकीकृत बनाई राष्ट्रिय योजना आयोगको सीमाभित्र रहेर अर्थमन्त्रीले एकीकृत बजेट प्रत्येक वर्षको जेठ १५ गते संसद्मा पेस गर्ने व्यवस्था नेपालको संविधानमा भएको देखिन्छ । राष्ट्रिय योजना आयोगको स्रोत अनुमान समितिले आगामी आवका लागि १६ खर्ब ८८ अर्बको बजेट सिलिङ अनुमान गरी अर्थ मन्त्रालयलाई उपलब्ध गराएको छ । 

हाम्रो जस्तो अति कम विकसित मुलुकका लागि आन्तरिक स्रोतको नै मुख्य भूमिका रहन्छ । विश्व अर्थतन्त्र नै कमजोर भएको अवस्थामा बाह्य स्रोतमा भर पर्नुहुँदैन र अधिकतम उपलब्धि प्राप्त हुने गरी आन्तरिक स्रोतलाई नै परिचालन गर्नुपर्छ । त्यसैले राष्ट्रिय योजना आयोगले अनुमान गरेको १४ खर्बको राजस्व संकलन महत्वाकांक्षी भए पनि वर्तमान अर्थतन्त्रको अवस्थालाई हेर्दा उपयुक्त नै देखिन्छ । आगामी तीन वर्षको राजस्व १४ प्रतिशतले वृद्धि हुन सक्ने अनुमानका आधारमा यो प्रक्षेपण गरिएको देखिन्छ । 

राजस्वले साधारण खर्चसमेत धान्न नसकेको अवस्थामा पुँजीगत खर्चमा राजस्वको योगदान हुन सकेको छैन । साधारण खर्चका लागि पनि ऋण लिनुपर्ने अवस्था छ । त्यसकारण राजस्व नबढाईकन अन्य विकल्प देखिँदैन ।

कोभिड–१९ र रुस–युक्रेन युद्धका कारण सबै चिजको उच्च मूल्यवृद्धि भएको छ र त्यसको प्रत्यक्ष–परोक्ष प्रभाव नेपाललाई परेको छ । अर्को कुरा, हाम्रो आन्तरिक उत्पादन न्यून भएकाले पनि आयात बढ्ने गरेको छ । आयात बढ्दा मूल्यवृद्धि हुने नै भयो । किनकि, अन्तर्राष्ट्रिय बजारमा नै आयातीत वस्तु तथा सेवामा चर्को मूल्यवृद्धि भएको छ ।

अहिले नेपालले पाउने भनेको ऋण नै हो, त्यो पनि त्यति सहज देखिँदैन । किनभने, उनीहरू पनि आर्थिक रूपले त्यति सबल छैनन् । त्यसैले नेपालले जति सक्यो आफ्नै आन्तरिक साधनस्रोत परिचालन गर्नुपर्दछ । वैदेशिक ऋणले भावी पुस्तालाई दायित्व बढाउने हुँदा त्यसतर्फ ध्यान दिनुपर्छ । 

चालूगत खर्च उच्च र आम्दानीभन्दा बढी खर्च भएकाले सरकारी कोषमा दबाब सिर्जना हुँदा ऋणात्मक भएको छ । साथै, पुँजीगत बजेट ज्यादै न्यून खर्च भएको छ । राजस्वले साधारण खर्चसमेत धान्न नसकेको अवस्थामा पुँजीगत खर्चमा राजस्वको योगदान हुन सकेको छैन । साधारण खर्चका लागि पनि ऋण लिनुपर्ने अवस्था छ । त्यसकारण राजस्व नबढाईकन अन्य विकल्प देखिँदैन । योजना आयोगले दिएको सीमाबमोजिम अनुदानबाट २५ अर्ब, ऋणबाट १ खर्ब ७६ अर्ब, आन्तरिक ऋणबाट २ खर्ब ३० अर्ब र राजस्वबाट १४ खर्ब अनुमान गरेको छ । आम्दानीको सीमा महत्वाकांक्षी देखिए पनि वर्तमान अवस्थामा उपयुक्त देखिन्छ । 

आन्तरिक स्रोत घटिरहेका वेला कतिपय सार्वजनिक दायित्वका यस्ता खर्च छन्, जुन खर्च नगरी हुँदैहुँदैन । खासगरी, आन्तरिक ऋण तथा वैदेशिक ऋणको सावाँ–ब्याजको भुक्तानी, सामाजिक सुरक्षा, तलबभत्ता, दैनिक प्रशासनिकलगायत अन्य लोककल्याणकारी कार्यक्रमहरूमा कटौती गर्न सकिने अवस्था हुँदैन । यी कार्यक्रम अनिवार्य दायित्वअन्तर्गत पर्दछन् । 

अहिलेको अवस्थालाई हेर्दा आगामी आवको बजेट कस्तो आउला भन्ने सर्वत्र चासोको विषय छ । निश्चय नै देशको अर्थतन्त्र संकटोन्मुख अवस्थामा देखिन्छ । अधिकांश सूचकांक नकारात्मक भएका हुँदा सानोतिनो प्रयासले अर्थतन्त्रमा सुधार ल्याउन सकिने देखिँदैन र आजको भोलि सुधार हुन पनि सक्दैन ।

 सुस्ताएको अर्थतन्त्र र अन्तर्राष्ट्रियस्तरमा खुम्चिँदै गएको आर्थिक क्रियाकलापका आधारमा योजना आयोगले दिएको १६ खर्ब ८८ अर्बको बजेट सीमा उपयुक्त नै देखिन्छ, जुन सीमा चालू आवको १७ खर्ब ९३ अर्बको बजेटभन्दा १ खर्ब ५ अर्बले कमी छ र अर्थतन्त्रले लय लिन नसकेको अवस्थामा बजेटको सीमा घटाउनुलाई अन्यथा भन्न सकिँदैन । बजेट सानो तथा ठूलो आकारको भन्नुभन्दा पनि त्यसको कार्यान्वयनमा ध्यान दिनु आवश्यक छ । चालू आवको बजेट ठूलो आकारमा निर्माण गरिए पनि कार्यान्वयनको कमजोरीले गर्दा खर्च हुन सकेको छैन । 

चालूगत बजेट पूरै खर्च भएर अतिरिक्त बजेटको माग भइरहेको छ भने पुँजीगत बजेट खर्च हुन नसकी विकास निर्माणका काम अलपत्र छन् । त्यसैले आगामी आर्थिक वर्षको बजेट वित्तीय साधनस्रोतले पुग्ने गरी निर्माण गरिनुपर्छ । अहिले आम्दानीका स्रोत कमजोर हुँदै गएका छन् । आम्दानीका स्रोत खुम्चिँदै गएपछि बजेटको आकार ठूलो बनाउँदा अनावश्यक समस्या निम्तिन्छ । विगतका आर्थिक वर्षमा हचुवाका भरमा राजस्व प्राप्त हुने अनुमान गरियो । पछि राजस्व असुली नहुँदा स्रोत व्यवस्थापन गर्न नसकी अर्थतन्त्र सन्तुलन हुन सकेन । आगामी आवमा यस्तो समस्या नदोहोरिन यथार्थको निकट हुने गरी राजस्वको अनुमान गरिनुपर्छ । अन्यथा, बजेट कार्यान्वयनमा समस्या आउन सक्छ ।

सहयोगी देश तथा अन्तर्राष्ट्रिय संघसंस्थाले उपलब्ध गराउने अनुदान पनि विगतमा जस्तो प्राप्त हुने देखिँदैन । त्यसैले अनुदान प्राप्त भइहाल्छ भनेर बजेटमा समावेश गरिनुहुन्न्न । यकिन भएका अथवा प्रतिबद्धता जाहेर भएका अनुदान मात्र बजेटमा समावेश गरिनुपर्छ । कुन–कुन आयोजना अनुदान, ऋण वा नेपाल सरकारको आफ्नै स्रोतबाट सञ्चालन हुने हो, सोको यकिन नभईकन बजेटमा समावेश गरिने परम्पराको अन्त्य गरिनुपर्छ ।

जनतालाई खुसी पार्न ठूलो आकारको बजेट तर्जुमा गर्ने, तर कार्यान्वयनको चरणमा बजेट उपलब्ध नहुँदा आयोजना सञ्चालन हुन नसकी लागतजन्य र समयजन्य हुन पुगेका छन् । यस्ता घटना नदोहोरिने गरी बजेट तर्जुमा गरिनुपर्छ । स्रोत अनुमान गर्दा सरकारले लिएको नीति तथा प्राथमिकता, न्यूनतम साझा कार्यक्रम, संसदीय समितिबाट प्राप्त निर्देशनबमोजिम गरिनुपर्छ । विनासम्भाव्यता र स्रोतको सुनिश्चितता नभईकन बजेट विनियोजन हुँदा आवश्यक ठाउँमा आयोजना तथा बजेट नपुग्ने र अनावश्यक ठाउँमा पुग्दा आयोजना असफल भएका छन् । यस प्रकारका समस्या आगामी वर्षको बजेटमा आउन नसक्ने गरी बजेटले सम्बोधन गर्नुपर्छ ।

आगामी आवको बजेट तर्जुमाको प्रारम्भिक चरणदेखि नै विशेष ध्यान पुर्याउनुपर्ने देखिन्छ । कारण, हाम्रो अर्थतन्त्र निकै शिथिल अवस्थामा छ । यसलाई सामान्य उपचार गरेर मात्र पुग्ने देखिँदैन र शल्यक्रिया नै गर्नुपर्ने देखिन्छ । ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्दछ भने पुँजीगत खर्च बढाएर बजारमा तरलताको समस्या समाधान गर्नुपर्दछ ।

बजारमा पैसा भएर पनि त्यो पैसा किन बैंक तथा वित्तीय संस्थाहरूमा गएन भन्ने विषय सबैका लागि चिन्ताको विषय हुन गएको छ । यसलाई नियन्त्रण गर्न नोटबन्दी गर्ने कुरा सांसदहरूले नै उठाएका हुँदा यसमा के गर्न उपयुक्त हुन्छ, बजेटले सम्बोधन गर्नुपर्दछ । नोटबन्दी गर्न सकिएको अवस्थामा केही हदसम्म भ्रष्टाचार नियन्त्रण हुन सक्नेछ ।

अर्थतन्त्रलाई प्रभावकारी बनाउन मौद्रिक नीति तथा वित्तीय नीतिको ठूलो भूमिका रहेको हुन्छ । आगामी वर्षको बजेटले मौद्रिक तथा वित्तीय नीतिबारे आवश्यक सम्बोधन हुनुपर्ने देखिन्छ । साधारण खर्च अनावश्यक रूपमा वृद्धि हुँदै गएकाले यसमा कटौती गरेर निश्चित सीमाभित्र राख्नुपर्दछ । अनावश्यक रूपमा गठन गरिएका आयोग, समिति र कार्यालयहरू खारेज गरिनुपर्दछ । साथै, सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएका सुझावहरू कार्यान्वयन गरिनुपर्दछ, जसबाट धेरै मात्रामा अनावश्यक खर्च कटौती हुनेछ ।

नेपाली जनताको मुख्य पेसाको रूपमा रहेको कृषि क्षेत्रमा सुधार नगरी अर्थतन्त्रमा सुधार आउन सक्दैन । त्यसकारण कृषिलाई जीवननिर्वाहमुखीबाट व्यवसायमुखी बनाउन आवश्यक व्यवस्था गरिनुपर्दछ । साथै, नेपालको अर्थतन्त्रलाई योगदान दिन सक्ने पर्यटन, उद्योग र ऊर्जा क्षेत्रको विकासमा जोड दिनुपर्दछ । आन्तरिक उत्पादनमा वृद्धि गरेर आयातलाई विस्थापित गरी विदेशी मुद्रा सञ्चिति बढाउनुपर्दछ ।

अन्त्यमा, आन्तरिक तथा बाह्य क्षेत्रको असरबाट शिथिल हुँदै गएको नेपालको अर्थतन्त्रमा सुधार ल्याउन एक आर्थिक वर्षको बजेट पर्याप्त नहुन सक्छ । यद्यपि, अहिले अवरोधका रूपमा देखिएका समस्याहरूलाई आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्न सक्यो भने निश्चय नै अर्थतन्त्रमा सुधारका संकेतहरू देखा पर्नेछन् । यसैतर्फ नयाँ बजेट केन्द्रित हुनुपर्दछ ।

सुझावित समाचार