आगामी सन् २०४० सम्ममा विश्वका विभिन्न देशले प्लास्टिकजन्य प्रदूषणलाई ८० प्रतिशतले कटौती गर्न सक्ने अनुमान गरिएको छ । राष्ट्रसंघीय वातावरण कार्यक्रमको एउटा नयाँ प्रतिवेदनले यस्तो अनुमान गरेको हो । प्लास्टिकजन्य प्रदूषण एउटा त्रासदी बनेको छ, जसले विश्वको हरेक भागलाई असर गरेको छ । प्लास्टिकजन्य प्रदूषण एउटा यस्तो खतरा हो, जसले उत्तरी ध्रुवदेखि हामीले सास फेर्ने हावासम्मका हरेक क्षेत्रमा असर गरेको छ ।
प्लास्टिकजन्य प्रदूषणले हाम्रो जैविक प्रणालीलाई पनि परिवर्तन गरिरहेको छ । यसले पारिस्थितिक प्रणाली पनि परिवर्तन गर्दै छ । वैज्ञानिकहरूले हालै ब्राजिलको दुर्गम टापुमा प्लास्टिकबाट बनेका चट्टान फेला पारेका छन् र अहिले प्रशान्त महासागरका केही भागमा यति धेरै प्लास्टिक तैरिरहेका छन् कि तिनमा तटीय जीवहरूका समुदाय फस्टाउँदै छन् ।
पछिल्ला केही दशकले प्लास्टिक उत्पादनको स्तरमा वृद्धिलाई साक्षात्कार गरेका छन् भने फोहोर व्यवस्थापन प्रणालीले गति लिन सकेको छैन । सन् २०२१ मा विश्वले १३ करोड ९० लाख मेट्रिक टन प्लास्टिकजन्य फोहोर उत्पादन गरेको थियो । कुनै कदम नचालिएमा सन् २०६० सम्ममा प्लास्टिकको विश्वव्यापी उत्पादन तीनगुणाले बढ्ने अनुमान गरिएको छ ।
प्रतिवेदनअनुसार प्लास्टिकको पुनः प्रयोगले निकै प्रभाव पार्छ । त्यसैले प्रतिवेदनले पुनः प्रयोग गर्न मिल्ने बोतलहरू, प्लास्टिक उत्पादकलाई नै फिर्ता गर्न प्रोत्साहन गर्ने डिपोजिट प्रोग्राम र प्याकेजिङ टेक–ब्याकजस्ता विकल्पको प्रवद्र्धन गर्न सिफारिस गरेको छ । यसरी सन् २०४० सम्ममा प्लास्टिकजन्य प्रदूषणलाई ३० प्रतिशतले कटौती गर्दै यो बजार प्रवर्तित सबैभन्दा ‘शक्तिशाली परिवर्तन’ हुने प्रतिवेदनले जनाएको छ ।
प्रतिवेदनअनुसार रिसाइक्लिङको स्तर वृद्धिले प्लास्टिक प्रदूषणलाई २० प्रतिशतले घटाउन सक्छ । हरेक वर्ष विश्वव्यापी रूपमा लगभग नौ प्रतिशत प्लास्टिकको मात्र पुनः प्रयोग गरिन्छ, बाँकी ल्यान्डफिल्डमा लगिन्छ वा जलाएर नष्ट गरिन्छ । प्रतिवेदनले प्लास्टिकका नयाँ उत्पादनलाई सस्तो बनाउन मद्दत गर्ने जीवाश्म इन्धन अनुदान बन्द गर्न पनि सिफारिस गरेको छ । जीवाश्म इन्धनमा दिइने अनुदानले पुनः प्रयोग र वैकल्पिक सामग्रीको प्रयोगलाई निरुत्साहित गर्छ । जीवाश्म इन्धन लगभग सबैजसो प्लास्टिकको कच्चा पदार्थ हो ।
सन् २०२१ मा विश्वले १३ करोड ९० लाख मेट्रिक टन प्लास्टिकजन्य फोहोर उत्पादन गरेको थियो । कुनै कदम नचालिएमा सन् २०६० सम्ममा प्लास्टिकको विश्वव्यापी उत्पादन तीनगुणाले बढ्ने अनुमान गरिएको छ ।
एकपटक मात्र प्रयोग हुने उत्पादनलाई उपयुक्त वैकल्पिक सामग्रीतर्फ सार्दा प्लास्टिकजन्य प्रदूषणलाई १७ प्रतिशतले घटाउन सकिने प्रतिवेदनमा उल्लेख छ । ‘हामीले प्लास्टिकको उत्पादन, प्रयोग र डिस्पोज गर्ने तौरतरिकाले पारिस्थितिक प्रणालीलाई प्रदूषित गरिरहेको छ, मानव स्वास्थ्यका लागि खतरा सिर्जना गर्नुका साथै जलवायुलाई अस्थिर बनाइरहेको छ,’ युएनइपीका कार्यकारी निर्देशक इनगर एन्डरसनले एक विज्ञप्तिमा भने, ‘युएनइपीको यो प्रतिवेदनले प्लास्टिकलाई जैविक प्रणाली, हाम्रो शरीर र अर्थतन्त्रबाट बाहिर राख्ने विधि अपनाएर यी जोखिमलाई नाटकीय रूपमा कम गर्ने रोडम्याप प्रस्तुत गरेको छ ।’
प्रतिवेदनले सुझाएको परिवर्तनको वार्षिक लागत ६५ अर्ब डलर हुने भनिएको छ । एकल प्रयोगको प्लास्टिक उत्पादनबाट पुनः प्रयोग गर्न मिल्ने प्लास्टिक र बायोडिग्रेडेबल विकल्पमा जाँदाँ सन् २०४० सम्ममा ३२ खर्ब ५० अर्ब डलरको बचत हुन सक्ने आकलन छ ।
प्लास्टिकलाई ८० प्रतिशतले कटौती गर्दा वार्षिक ०.५ अर्ब टन उत्सर्जनजन्य प्रदूषणबाट बचिने पनि प्रतिवेदनले अनुमान गरेको छ । यसले विशेषगरी विकासशील देशमा सात लाख नयाँ रोजगारीसमेत सिर्जना गर्न सक्छ । यद्यपि यी सबै परिवर्तन हँुदा पनि विश्वले सन् २०४० सम्ममा अल्पकालीन उत्पादनबाट लगभग १० करोड मेट्रिक टन प्लास्टिकजन्य फोहोरको व्यवस्थापन गर्नुपर्नेछ ।
‘विश्व–पहिलो’ अन्तर्राष्ट्रिय प्लास्टिक सन्धिमा सहमति गर्ने उद्देश्यले यसै महिनाको अन्तमा पेरिसमा दोस्रो चरणको वार्ताको तयारी चल्दै गर्दा यो प्रतिवेदन सार्वजनिक भएको हो । प्रस्तावित सन्धिले प्लास्टिकको उत्पादनदेखि डिस्पोजलसम्मको सम्पूर्ण चक्रलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।