नातिलाई छोरा बनाएर नागरिकता : थप दुईजनालाई धरौटीमा छोड्न आदेश

आइतबार, ७ जेठ, २०८०
डिजिटल संस्करण

जिल्ला अदालत सप्तरीले झुटो विवरण पेस गरी नेपाली नागरिकता बनाउने कार्यमा सघाएको अभियोग लागेका थप दुईजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासबाट जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत नायब सुब्बा सुशील कर्ण र प्रशासनका खरिदार सञ्जीवकुमार साहलाई जनही २५ हजार धरौटीमा छाड्न आदेश भएको तहसिलदार दिनेश सुवेदीले जानकारी दिए। दुवैजना आइतबार जिल्ला अदालत सप्तरीमा आफैँ हाजिर भएका थिए।

अदालतले बुधबार २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। यसअघि यस मुद्दामा प्रतिवादी बनाइएका राजविराज नगरपालिका– ११ का वडाध्यक्ष उदितनारायण यादव एक लाख रुपैयाँ र स्थानीय राधेश्याम यादव २५ हजार रुपैयाँ धरौटीमा बिहीबार रिहा भएका थिए। नागरिकता लिएका सतिश र बुबा दाबी गरिएका सूर्यनारायण जनही एक–एक लाख धरौटीमा जेठ १ गते रिहा भएका थिए।

सूर्यनारायण यादवले छोरीका छोरा (नाति) सतिश यादवलाई आफ्नै छोरा भनेर झुटो विवरण पेस गरेर २१ फागुन ०७९ मा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट १६–०१–७९–११६३१ नम्बरको नागरिकता प्राप्त गराएका थिए । सरकारी वकिलको कार्यालय सप्तरीबाट ३१ वैशाखमा नागरिकता प्रकरणमा २८ जनाविरुद्ध मुद्दा चलेको थियो।

सुझावित समाचार