प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सरकारप्रतिको अविश्वास अभूतपूर्व रूपमा बढेको दाबी गरेका छन्।
आइतबार सरकारले संघीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। मुलुकको अर्थतन्त्र संकटापन्न अवस्थामा रहेको र सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अश्वाभाविक गतिविधिहरू बढ्दा पनि सरकारले सोअनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको ओलीको जिकिर छ।
उनले सरकार तलब, पेन्सन, सामाजिक सुरक्षा खर्चलगायतका अनिवार्य खर्च व्यवस्थापन गर्न पनि नसक्ने स्थितिमा पुगेको दोहोर्याए। ‘प्रमुख आर्थिक परिसूचकांकहरूले अर्थतन्त्र संकटापन्न भइसकेको देखाएका छन्। सरकार राजस्व उठाउन असफल भइसकेको छ,’ उनले भने।
सरकारले विगतका सरकारका राम्रा कामलाई समेत नीति तथा कार्यक्रममा समावेश गर्न नसकेको भन्दै ओलीले आपत्ति जनाए।