एमाले अध्यक्ष केपी ओलीले संसद्मा प्रस्तुत नीति तथा कार्यक्रम पारित गर्न दिन नहुने बताएका छन् । एमाले संसदीय दलको शनिबारको बैठकमा उनले नीति तथा कार्यक्रम अस्पष्ट, अन्योलग्रस्त, दिशाहीन रहेको दाबी गरे ।
‘नीति कार्यक्रमजस्तै छैन । एक वर्ष हामी कसरी अगाडि बढ्छौँ भन्ने कुरा खासै छैन । धेरै अस्पष्ट, अन्योलग्रस्त, दिशाहीन छ, गम्भीर समस्या नै देखेको छैन । यसले राजनीतिक, सामाजिक, आर्थिकलगायत कुनै पनि समस्या पहिचान नै गर्न नसकेपछि समाधान कसरी गर्छ ? त्यसकारण यसले कुनै मार्गदर्शन गर्दैन,’ ओलीले भने, ‘यो स्वीकारयोग्य छैन । समर्थनयोग्य छैन । विरोधयोग्य छ । यस्तो फाल्तु कार्यक्रम नीतिको नाममा दस्तावेज पेस हुनु दुर्भाग्य हो । त्यसकारण, यसलाई पास गर्न दिनुहुँदैन । विरोध गर्नुपर्छ । हाम्रो मुख्य पोजिसन त्यही हो ।’
ओलीले नीति तथा कार्यक्रमको सन्दर्भमा आफूले आइतबारको संसद बैठकमा धारणा राख्ने बताए । ‘भोलि म केही कुरा राख्नेछु । त्यसमा समग्र कुरा राजनीतिक कोणबाट आउने नै छन्,’ उनले भने, ‘तपाईंहरूले पनि अध्ययन गरेर सशक्त रूपमा कुरा राख्नुस् ।’ ओलीले नीति तथा कार्यक्रम २० वर्षे योजना हो कि पञ्चवर्षीय योजना भनेर प्रश्नसमेत गरे । उनले भने, ‘यो वार्षिक कार्ययोजना हो । तर, यो २० वर्षे योजना हो कि, पञ्चवर्षीय योजना हो कि ? यहाँ दुई वर्षको योजना पनि पेस गरिएको छ । प्रधानमन्त्रीको कार्यकाल गठबन्धनले दुई वर्ष तोकेको हुनाले दुई वर्षभित्र भनिएको हो कि अथवा के हो ?’
सस्तो लोकप्रियताका लागि मीठामीठा शब्द राख्न खोजिएको ओलीको आरोप छ । ‘यो समाजप्रति गम्भीर छैन । समाज महँगीको मारमा छ । जनतालाई सबभन्दा महँगो त यो सरकार रहेको छ । देशलाई गरिब बनाउने गरी बनेको सरकार हामीले भोग्नुपरेको छ,’ उनले भने ।
संघीयताको विषयमा गम्भीर प्रश्न उठेका वेला सरकारले संघीयताको सबलीकरण गर्ने भने पनि कसरी भन्ने स्पष्ट पार्न नसकेको ओलीको आरोप छ । समाजवादमा पुग्ने दृष्टिकोण केही पनि नभएको, विकास निर्माणको कुनै खाका नभएको ओलीले टिप्पणी गरे । कस्ता लक्ष्यका साथ योजना पूरा गर्छौँ भन्ने हुनुपर्छ । तर, शब्दजालमा अलमल्याउने कुराबाहेक यसमा केही पनि छैन,’ उनले भने ।