वि.सं २०५९ साल । माओवादी युद्ध उत्कर्षमा थियो। माओवादी कार्यकर्ताले साबिक हेकुली गाविस १, बैबाङस्थित हिमालय बोर्डिङ स्कुल बन्द गराए। अनि दंगीशरण गाउँपालिका ४, बैबाङकी निरू चौधरी आफ्ना छोराछोरीलाई पढाउन काठमाडौं पुगिन्। जागिरको सिलसिलामा उनका पति काठमाडौंमै थिए।
उनी काठमाडौं गएर भान्साको काममा सीमित भइनन्। पतिको कमाइले छोराछोरी पढाउन, कोठा भाडा तिर्न र खानलाउन समस्या भएपछि कुनै काम गर्ने योजना बनाइन्। तर, काठमाडौंमा काम पाउन सजिलो थिएन। उनी उपायको खोजीमा थइन्। घरबेटी दिदीलाई आफ्नो समस्या सुनाइन्। अनि निस्कियो उपाय।
घरबेटी दिदीको सल्लाहबमोजिम उनले ऊलनको काम गर्न थालिन्। उद्योगले दिएको अर्डरअनुसार उनले ऊलनका विभिन्न थरिका सामग्री कोठामै बनाउन थालिन्। ‘घरबेटी दिदीले पनि ऊलनको काम गर्नुहुन्थ्यो। पहिलोपटक उहाँसँग उद्योगमा गएँ। दुई–तीनपटक उहाँसँगै गएँ। त्यसपछि अर्डर लिन र पुर्याउन म आफैँ जान सक्ने भएँ,’ निरूले भनिन्।
उनले करिब एक वर्षसम्म ऊलनबाट विभिन्न सामग्री बनाइन्। उनका पतिको नेपालगन्ज सरुवा भएपछि उनी पनि नेपालगन्ज आइन्। नेपालगन्जमा पनि निरू खाली हात बसिनन्। तर, काठमाडौंमा गरेको काम नेपालगन्जमा पाउन मुस्किल थियो। तैपनि उनले विभिन्न थरिका स्वेटर बुनेर समयको सदुपयोग गर्दै थिइन्। संयोगले त्यही बेला सेसी नेपाल र वर्ल्ड भ्यू नेपालले थारू कलामा आधारित गुन्द्री बुनाई तालिम आयोजना गरे। तालिममा सहभागी हुन निरू दाङको लमही गइन्। उक्त तालिम उनले पहिलेदेखि बुन्दै आएको थारू हस्तकलामा आधारित गुन्द्री बुनाई थियो। तर, आधुनिक डिजाइनका सामग्री उत्पादन गर्न सिकाउने भएकाले उनका लागि तालिम चिउरामा फलाम चपाएसरह गाह्रो भयो।
‘तालिम लिने बेला नजानेर रोएँ। सिक्न सकिन्न किजस्तो पनि लाग्यो। हरेस खाएँ। पतिलाई फोन गरेर तालिममा पाएको दुःख सुनाए। उहाँले गाह्रो छ भने घर आइहाल भन्नुभयो। तर, मैले जसरी पनि सिक्छु, घर जान्न भन्ने अठोट गरेँ। कडा मेहनत गरेर सीप सिकेँ र नेपालगन्ज फर्किएँ,’ निरूले ती दिन सम्झिइन्।
तालिम लिएपछि उनले थारू हस्तकलालाई व्यवसाय बनाएकी छिन्। हस्तकलालाई व्यवसाय बनाउन उनको अगुवाइमा पाँचजना थारू महिला मिलेर पञ्चशील हस्तकला केन्द्र स्थापना गरेका छन्। उक्त संस्था घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा दर्ता छ। संस्था दर्ता गरेपछि व्यवसाय सञ्चालन गर्न झनै सजिलो भएको उनले सुनाइन्। ‘पाँचजना थारू महिला मिलेर साझेदारी संस्था दर्ता गरेका छौँ। यसले हामीलाई तालिम दिन, लिन र सरकारी निकायबाट सेवा, सुविधा लिन तथा मेला, महोत्सवमा जान सहयोग मिलेको छ,’ उनले भनिन्।
निरुको संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेला, महोत्वसमा सहभागी भई पुरस्कारसमेत जितेको छ। काठमाडौंमा आयोजना हुने अधिकांश हस्तकलाका मेला, महोत्सवमा उनको संस्थालाई निम्तो आउँछ।
उनी हस्तकला बनाउन मात्र सीमित छैनन्। उनी थारू हस्तकलाको प्रशिक्षक पनि हुन्। उनले दाङ, बाँके, बर्दिया र कैलालीका धेरै महिलालाई हस्तकलाको तालिम दिएर आत्मनिर्भर बनाएकी छिन्। सरकारी तथा गैरसरकारी संस्थाले ग्रामीण भेगका महिलालाई तालिम दिन बोलाउने गरेको उनले सुनाइन्। ‘वर्षमा तीन–चार ठाउँमा हस्तकलासम्बन्धी तालिम दिन जान्छु,’ उनले भनिन्, ‘एक्लै नसकेर संस्थाका अरूलाई पनि पालो दिनुपर्ने हुन्छ।’
माग धान्नै मुस्किल
निरूलाई मागअनुसार हस्तकलाका सामग्री बनाउनै हम्मेहम्मे पर्छ। माग पूरा गर्न उनी हरेक दिन बिहान ४ बजे नै उठेर काम सुरु गर्छिन्। उनको यो दैनिकी बेलुकी ९ बजेसम्म चल्छ। ‘मागअनुसारको सामान पुर्याउन दिनरात काम गर्नुपर्छ,’ उनले भनिन्, ‘तैपनि माग धान्न सकिएको छैन।’
व्यवसायले थारू हस्तकलाको संरक्षणसँगै आयआर्जन गर्ने राम्रो माध्यम बनेको उनको भनाइ छ। जंगलबाट कुश अर्थात् खर ल्याएर यस्ता सामग्री बनाउँदै आएको पञ्चशील हस्तकला केन्द्रकी अध्यक्षसमेत रहेकी निरूले बताइन्। ‘यो काम थालेपछि न कसैको कुरा सुन्नुपरेको छ, न कामको खोजीमा बाहिर जानुपर्ने बाध्यता छ,’ उनले भनिन्।
निरूको उद्योगमा थप चार उद्यमी महिला सदस्य छन्। उनीहरूले नै निरूलाई काममा सघाउँछन्। ‘उद्योगका सबै महिलाले जिम्मेवारी बाँडफाड गरेका छौँ। आ–आफ्नो जिम्मेवारीअनुसारको काम गर्छौँ,’ उद्योगकी सचिव मनु चौधरीले भनिन्।
हस्तकला व्यवसाय सुरु गरेपछि मनुले पनि पतिसँग पैँसा माग्नुपरेको छैन। यो व्यवसायबाट राम्रो आम्दानी भइरहेका उनले बताइन्। थारू हस्तकला व्यवसायले हराउँदै गएको हस्तकलाको जगेर्नासमेत भएको मनुको भनाइ छ। तीनमहिने तालिम लिएर व्यवसाय सुरु गरेकी उनी व्यवसायबाट सन्तुष्टसमेत छिन्।
नेपालगन्ज–९, खट्कनपूर्वाकी सरिता चौधरीले पनि थारू हस्तकलालाई व्यवसाय बनाएकी छिन्। पञ्चशील हस्तकला केन्द्रकी सदस्यसमेत रहेकी उनले घरको काम सकेर फुर्सदको समयमा हस्तकलाका सामान बनाउँछिन्। उनले पेनहोल्डर, गमला, हट्केस, ज्वेलरी, डस्टबिन, ट्रेजस्ता सामान उत्पादन गरेर बजारमा पठाउँदै आएकी छिन्।
नेपालगन्जबाट विदेश पुग्छ हस्तकलाका सामग्री
नेपालगन्जमा उत्पादित थारू हस्तकलाका सामग्री काठमाडौं, पोखरा, बुटवलजस्ता नेपाली सहर मात्रै नभई अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा, डेनमार्कजस्ता विकसित देशमा जाने गरेको छ।
घरमा प्रयोग गर्नका लागि मात्र हस्तकलाका सामान बनाउने महिलाले यसलाई व्यवसाय बनाएकाले अहिले अधिकांश उत्पादन भने नेपालमै खपत हुने गरेको उनको भनाइ छ। ‘केही विदेश पुगे पनि अधिकांश सामान काठमाडौंमै खपत हुन्छ,’ निरूले भनिन्, ‘हामीले पहिले पनि थारू हस्तकलाका सामान बनाउँथ्यौँ, तर पछिल्लो समय बजारमा पाइने आधुनिक र चलन चल्तीमा रहेका प्लास्टिक, तामा, सिसाका भाँडाजस्तै डिजाइनमा बनाउन थालेका छौँ।’
यस्ता सामान वातावरणमैत्रीसमेत छन्। सड्ने, गल्ने भएकाले देश, विदेशमा माग बढ्दै गएको उनको भनाइ छ।