व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छुः अर्थमन्त्री महत

शनिबार, ६ जेठ, २०८०
डिजिटल संस्करण

अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको बताएका छन्।

उद्योग व्यवसाय र समग्र अर्थतन्त्रको लागि काम गरिरहेको भन्दै उनले एउटा व्यक्ति र व्यवसायको फाइदाका लागि आफूबाट कुनै काम नहुने प्रस्ट पारे। शनिबार सिंहदरबारमा अर्थ समितिको बैठकमा सांसदहरूसँग अर्थतन्त्रका वर्तमान सूचकहरूका बारेमा छलफल गर्दै उनले यस्तो बताएका हुन्।

‘मेरो क्षमता, योग्यताले ल्याएसम्म, मेरो ज्ञान र अनुभवले भ्याएसम्म– यो सिस्टममा देखिएको समस्या एकैपटक समाप्त हुँदैन, डा. महतले भने, ‘तर, त्यसलाई एउटा ढुंगा पन्छाउँदै, अर्को ढुंगा पन्छाउँदै स्पष्ट मार्गचित्र कोर्ने हो। इमान्दार र समर्पणका साथ काम गर्दै जाने हो। तपाईंहरूको सहयोग चाहिन्छ, शंका गर्नुस्, प्रश्न उठाउनुस्। तर, यसले गम्भीरताका साथ प्रयास गरेको छ भन्ने कुरा एउटा कुनामा स्पेस राख्न अनुरोध गर्दछु।’

विदेशमा उन्नति देखेका युवालाई जबर्जस्ती रोक्न नसकिने आशय व्यक्त गर्दै उनले स्वदेशमै उनीहरूका लागि अवसर सिर्जना गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको बताए। आगामी बजेटमा नेपाली उद्योग व्यवसायीलाई नै प्रमोट गर्ने विषयलाई प्राथमिकता दिने अर्थमन्त्रीको भनाइ छ।

‘यहीँ उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्छ। नेपालमा अहिले जुन उद्योग व्यवसाय छ, त्यसमा धेरैजसो हाम्रो भ्यालु एडिसन कम छ। हामी चाहन्छौँ, यो भ्यालु एडिसन ज्यादाभन्दा ज्यादा देशभित्र नै होस्। नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्नेजस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिन्छौँ, बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने नीतिमा हामी जान्छौँ,’ उनले भने।

सुझावित समाचार