प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरू बैठकमा बस्नुलाई नराम्रो दृष्टिकोणबाट लिन नहुने बताएका छन्।
सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरूको बैठक बस्दा भ्रष्टाचार प्रकरणलाई सामसुम बनाउन लागेको हो कि भन्ने शंका गर्ने गरिएको भन्दै उनले आफूहरू सदनलाई प्रभावकारी बनाउन छलफलमा बसेको जिकिर गरे। शनिबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोसिस भइरहेको दाबी गरे।
‘देशमा एकथरी मानिसहरू नेपाली जनताले झन्डै ७ दशकभन्दा बढी संघर्ष गरेर प्राप्त परिवर्तनलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोसिस भइरहेको छ। त्यसरी बस्नुको तात्पर्य १२ बुँदे समझदारी हुँदै विस्तृत शान्ति सम्झौता र संविधानको घोषणामा एकसाथ उभिएका दलहरू फेरि एक ठाउँ उभिनुपर्ने स्थिति आउन सक्छ भनेर बसेका हौँ,’ उनले भने।