पर्यटन विकासका लागि विराट राजाको दरबारदेखि बजुतालसम्म दौडिए धावकहरू

शनिबार, ६ जेठ, २०८०
डिजिटल संस्करण

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कोसी प्रदेश सरकारले हाफ म्याराथन दौड प्रतियोगिता गराएको छ। कोसी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयले शनिबार विराटनगरको सीमावर्ती क्षेत्रमा रहेको विराट राजाको दरबार क्षेत्रदेखि सुनसरीको पर्यटकीय क्षेत्र बजुतालसम्म हाफ म्याराथन गराएको हो।

म्याराथनमा भाग लिएका खेलाडीहरूले विराटनगरको भेडियारीदेखि बजुतालसम्म २३ किलोमिटरको दूरी पार गरे। म्याराथनमा नेपाली सेनाका नरेन्द्रसिंह रावल प्रथम भए। उनले २३ किमि १ घण्टा १७ मिनेट २८ सेकेन्डमा पार गरेर नगद १ लाख पुरस्कार प्राप्त गरे।

नेपाली सेनाकै कुमार शाहीले १ घण्टा १८ मिनेटमा निर्धारित दूरी पार गर्दै दोस्रो स्थान हासिल गरेर ७५ हजार हात पार्दा बैतडीका म्याराथन धावक मोहनदेव जोशीले १ घण्टा १८ मिनेट ३३ सेकेन्डमा दूरी पार गरेर तेस्रो स्थान हासिल गर्दै ५० हजार नगद प्राप्त गरे।

त्यसैगरी, नेपाली सेनाका होमलाल श्रेष्ठले १ घण्टा १९ मिनेट ३९ सेकेन्डमा, श्रीकाश राईले १ घण्टा १९ मिनेट ५१ सेकेन्डमा र सशस्त्र प्रहरीका किरणसिंह बोगटीले १ घण्टा २० मिनेट ५ सेकेन्डमा निर्धारित दूरी पार गरेर नगद १५ हजार सान्त्वना पुरस्कार प्राप्त गरे।

म्याराथनमा महिलातर्फ नेपाल प्रहरीकी रेखा विष्ट प्रथम भइन्। उनले ५ किलोमिटर दूरी  १९ मिनेट ४ सेकेन्डमा पार गर्दै २५ हजार प्राप्त गरिन्। सशस्त्र प्रहरीकीे सिमा चौधरीले १९ मिनेट ११ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरेर २० हजार तथा नेपाल प्रहरीकी तिर्सना कुमालले १९ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरेर २० हजार प्राप्त गरिन्। २० मिनेट १६ सेकेन्डमा दूरी पार गर्दै विराटनगरकी अंशु मण्डलले चौथो स्थान प्राप्त गरेर १५ हजार पुरस्कार प्राप्त गरिन्।

सुझावित समाचार