उच्च शिक्षा पढ्न बिदेसिने क्रम रोक्न आग्रह

शनिबार, ६ जेठ, २०८०
डिजिटल संस्करण

स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी बिदेसिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन्। ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान), काठमाडौं र खबर एजुकेसन डटकमद्वारा आयोजित नीतिगत संवादमा वक्ताले त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा वार्षिक क्यालेन्डर कार्यान्वयन नहुनु, नवप्रवर्तन, अध्ययन अनुसन्धानमुखी र रोजगारमुखी शिक्षा नहुनु, विद्यार्थीको शुल्कको मापनमा एकरूपता नहुनुलगायतका समस्या देखिएको जनाएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरि लम्सालले नीतिगत रूपमा सरकारले गर्नुपर्ने जति सम्बोधनको प्रयास गरे पनि सोचबमोजिम परिणाम आउन नसकेको स्विकारे। त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसालले विश्वविद्यालयका राजनीतिक हस्तक्षेपले संस्कृतिकै रूप लिएकामा चिन्ता व्यक्त गर्दै त्यसलाई तोड्न कोसिस भइरहेको बताए।

हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप र बन्द हड्तालमुक्त बनाउन आग्रह गर्दै उच्च शिक्षाका नाममा लाखौँ रकम बिदेसिने अवस्था अन्त्य गर्न नेपाल सरकार, सम्बन्धित विद्यालय र कलेज गम्भीर हुनुपर्ने बताए। 

शिक्षा मन्त्रालयको आकडाअनुसार आर्थिक वर्ष ०७९/८० मा ९२ हजार एक सय ४१ विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमतिपत्र लिएको देखिन्छ भने हाल दैनिक यो संख्या पाँच सयकाे हाराहारीमा रहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो नौ महिनाको अवधिमा र ६७ अर्ब १९ करोड बाहिरिएको छ। अघिल्लो आवको सोही अवधिमा  ४३ अर्ब ६७ करोड रुपैयाँ  बाहिरिएको थियो।

सुझावित समाचार