दुःखले छाड्ने कि दुःखलाई छाड्ने ?

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

एक दिन चिन्तित पति र पत्नी एक सन्तको आश्रममा पुगे । सन्तसितको भेटघाटपछि पतिले दुःखी हुँदै भने– महाराज, हजुरको आश्रममा देशका कुनाकुनाबाट दीनदुःखी आउँछन् र हजुरबाट खुसियाली लिएर फर्किन्छन् । हजुर कहिल्यै कसैलाई निराश बनाउनुहुन्न । हामी दुई पतिपत्नी पनि निकै दुःखी छौँ । हामीलाई दुःखले कहिल्यै छाडेन । यसले जहिल्यै हामीलाई सताइरह्यो । यसबाट मुक्तिको कुनै उपाय बताइदिनुपर्यो महाराज !

सन्तले ध्यानपूर्वक उनीहरूको गुनासो सुने । त्यसपछि नबोली कुटीबाट बाहिर निस्किए । नजिकै एउटा विशाल रुख थियो । त्यसैलाई अँगालो हालेर उनी चिच्याउन थाले– बचाऊ, बचाऊ । मलाई रुखले समात्यो । यसले मलाई छाड्दै छाडेन ।

सन्तको यस्तो चाला देख्दा दुवै पतिपत्नी छक्क परे । नजिकै गएर पतिले भने– महाराज ! हजुर संसारलाई बाटो देखाउनुहुन्छ । सद्बुद्धि दिएर पठाउनुहुन्छ । तर, हजुर आफैँ भने किन यस्तो हर्कत गर्दै हुनुहुन्छ ? कहाँ यो रुखले हजुरलाई समातेको छ त ? हजुरले पो रुखलाई समात्नुभएको छ । हजुर आफू रुखलाई छाडिदिनुहोस्, उसले पनि तपाईंलाई छाड्दिहाल्छ नि !

सन्तले मुस्कुराउँदै रुखलाई छाडिदिए र पुनः कुटीमै फर्किए । उनले पतिपत्नीतिर फर्किएर भने– हो, म पनि तपाईंहरूलाई त्यही त बुझाउन खोजिरहेको थिएँ । दुःखले तपाईंहरूलाई नछाडेको होइन, तपाईंहरूले चाहिँ उसलाई नछाड्नुभएको हो । दुःखलाई कहिल्यै नअँगाल्ने हो भने यसले हामीलाई आफैँ आएर कहिल्यै सताउन सक्दैन ।

सुझावित समाचार