स्पेनका अनुभवी पर्वतारोही कार्लोस सोरियाकाे म्याग्दीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरि हिमालको कीर्तिमानी आरोहण गर्ने सपना अधुरो भएको छ।
उमेरले ८४ वर्ष पुगेका कार्लोस म्याग्दीको धौलागिरि गाउँपालिका– ४ मुदीमा अवस्थित आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका लागि गत चैत अन्तिम साता सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा आधार शिविर पुगेका थिए।
प्रतिकूल मौसमका कारण आधार शिविरमा लामो समय बिताएका कार्लोस मौसममा सुधार आएसँगै सात हजार दुई सय मिटर उचाइमा रहेको तेस्रो क्याम्पमा पुग्न सफल भएका थिए।
तेस्रो क्याम्पदेखि धौलागिरिको चुचुरोतर्फ उक्लने क्रममा सात हजार सात सय मिटर उचाइमा लडेर दुर्घटनामा परेपछि कार्लोसको खुट्टा मर्कियो। उनको आरोहण स्थगित भएको सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए।
आरोहण दलका शेर्पा र सहयोगीहरूमार्फत कार्लोसलाई बेसक्याम्पसम्म ल्याएर त्यहाँबाट हेलिकाेप्टरमार्फत बिहीबार काठमाडाैं लगिएको छ। कार्लोसको आधिकारिक फेसबुक पेजमार्फत अहिले उनको मर्किएको खुट्टाको काठमाडाैंमा उपचार गराउन थालिएको जानकारी दिइएको छ।
धौलागिरिको कीर्तिमानी आरोहणका लागि कार्लोसले योसँगै १२औँ पटक अनवरत प्रयास गरेका हुन्। सबैभन्दा वृद्ध उमेरमा समेत धौलागिरि हिमालको चुचुरोमा पुग्ने धोको पूरा नभए पनि कार्लोस अथक प्रयासमा छन्। यसपटक उनको आरोहण व्यवस्थापनको तर्फबाट मिङतेम्बा शेर्पाले कार्लोसको धौलागिरि आरोहण दलको नेतृत्व गरेका थिए।
गत वर्षसमेत आरोहणका लागि धौलागिरिको पहिलो क्याम्पसम्म पुगेर प्रतिकूल मौसमका कारण आरोहण स्थगित गरेर कार्लोस फर्किएका थिए। ६० वर्ष उमेर पुगेपछि आठ हजार मिटरभन्दा अग्ला १० हिमाल आरोहण गर्ने एक मात्रै आरोही बनेका कार्लोसले धौलागिरि आरोहण गरेमा सबैभन्दा ज्येष्ठ उमेरमा विश्वका १४ हिमाल आरोहणको कीर्तिमानी बनाउने लक्ष्य राखेका छन्।
कार्लोसले सन् १९९८ मा पहिलो प्रयास धौलागिरिको आरोहण गर्ने प्रयास गरेका थिए । सबैभन्दा वृद्ध उमेरमा १४ वटा हिमाल आरोहणको कीर्तिमान राख्न कार्लोसले धौलागिरि र तिब्बतको सीसापांमाको चुचुरो चुम्न मात्र बाँकी छ।
कार्लोसले ६२ वर्षको उमेरमा सगरमाथा, ७५ वर्षको उमेरमा कञ्चनजंघा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गरेका थिए। यस सिजनमा धौलागिरि हिमाल आरोहणका लागि २४ पुरुष र ११ जना महिला गरी ३५ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ।