नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो काठमाडौंमा हुने भएको छ । आगामी बिहीबार (४ जेठ)बाट भृकुटीमण्डपमा सुरु हुने उक्त एक्स्पो ८ जेठसम्म चल्नेछ । उक्त व्यापार मेलामा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय वस्तुहरूको प्रदर्शनी गरिने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
छैटौँ संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान एवं नेपाली वस्तुहरूको बजारीकरणमा जोड दिइने अध्यक्ष राजेन्द्र मल्लले बताए । मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीहरूले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधिको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ । उनले भने, ‘चेम्बर एक्स्पोले बाह्य व्यापारिक समुदायसँग सहकार्य भई स्वदेशी उद्यमी–व्यवसायीहरूमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नसमेत ज्यादै प्रभावकारी हुनेछ ।’
चेम्बर एक्स्पोमा नेपाली हस्तकलाका उत्पादनहरू, घरेलु तथा खाद्यान्नका सामग्रीहरू, जडीबुटीजन्य वस्तुहरू प्रदर्शनी गरिने चेम्बरले जनाएको छ । यस्तै अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तुहरूसमेत प्रदर्शनीमा राखिनेछ । मेलाको करिब डेढ लाखजनाले अवलोकन गर्ने व्यापार मेला समितिका सभापति राष्ट्रभूषण चाकुबजीले जानकारी दिए ।
मेलामा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामग्रीका स्टल रहनेछन् । मुलुकको अर्थतन्त्र चलायमान बनाउन एवं गुणस्तरीय वस्तु प्रयोग गर्नका लागि उपभोक्तालाई सचेत गराउने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष मल्लले बताए ।मेलामा एक सय ५० वटा स्टल रहनेछन् । तीमध्ये ८० वटा स्टल नेपालीले प्रयोग गर्ने जनाइएको छ । मेलामा प्रवेश शुल्क नलाग्ने आयोजकको भनाइ छ ।