नेपाल भलिबल संघले आयोजना गर्ने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कपको तयारी पूरा भएको छ । संघले सोमबार पत्रकार सम्मेलन गर्दै ८ देखि १४ जेठसम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने काभा महिला च्यालेन्ज कपको तयारी पूरा भएको जानकारी दिएको हो । संघका अध्यक्ष तथा प्रतियोगिताका संयोजक जितेन्द्रबहादुर चन्दले पुरुषको जस्तै महिला काभा प्रतियोगितालाई सफलतापूर्वक आयोजना गर्न तयार रहेको बताएका छन् ।
‘यसअघि हामीले २०१९ मा पुरुषतर्फ एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता आयोजना गरेका थियौँ, महिला काभा च्यालेन्ज कप पनि सफलतापूर्वक हुने विश्वास छ,’ चन्दले भने ।नेपालले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा महिला र पुरुष प्रतियोगिताको व्यस्थापकीय जिम्मेवारी सफलतापूर्वक गरेको छ । प्रतियोगितामा दक्षिण एसिया तथा सेन्ट्रल एसियाका आठ राष्ट्रको सहभागिता रहनेछ । आयोजक नेपाल, बंगलादेश, भारत, माल्दिभ्स, श्रीलंका, कजाकिस्तान, किर्गिस्तान र उज्वेकिस्तानको सहभागिता रहनेछ ।
अध्यक्ष चन्दका अनुसार प्रतियोगिता आयोजनाको खर्च अनुमानित २ करोड ७१ लाख रहेको छ । प्रतियोगिता आयोजनाका लागि संघका अध्यक्ष चन्द र काभा अध्यक्ष मोहमद लाथिफले सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । ८ जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिताको उद्घाटन गर्ने संघका अध्यक्ष चन्दले जानकारी दिए ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय भलिबल संघ (फिब) का प्रतिनिधि तथा सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा)का अध्यक्ष मोहम्मद लातिफ पनि आउनेछन् । यसैबीच, काभा च्यालेन्ज कपका लागि संघका निवर्तमान अध्यक्ष मनोरञ्जनरमण शर्माले एक लाख र विद्यालय भलिबल कमिसनले ७५ हजार रुपैयाँ सहयोग गरेको छ ।
दुई समूहमा विभाजित
प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपाल, भारत, बंगलादेश र किर्गिस्तान छन् । समूह ‘बी’मा श्रीलंका, माल्दिभ्स, कजाकिस्तान र उज्वेकिस्तान रहेका छन् । नेपाल दुईपटकको सेन्ट्रल जोन च्याम्पियन हो । भारतीय टोलीले १३औँ सागमा स्वर्ण जितेको थियो । सन् २०१९ मा काठमाडौंमै भएको सागको स्वर्ण भिडन्तमा भारतले नेपाललाई ३–२ को सेटमा हराएको थियो । चार वर्षपछि नेपाल र भारतबीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो ।
उपाधि रक्षा गर्ने लक्ष्य
नेपाल प्रतियोगिताको साबिक दुईपटकको विजेता हो । घरेलु कोर्टमा नेपालमाथि उपाधि रक्षा गर्नुपर्ने दबाब छ । प्रतियोगितामा ह्याट्रिक उपाधि गर्ने लक्ष्य रहेको राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले बताए । ‘हामी उपाधि रक्षा गर्न तयार छौँ,’ प्रशिक्षक भट्टले भने, ‘यसैअनुसार हाम्रो तयारी भइरहेको छ ।’ यसपटक नेपाली महिला भलिबल टोलीकी नियमित सदस्य प्रतिभा माली चोटका कारण टिममा छैनन् । उनी नहुँदा अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गर्नुपर्ने दबाब रहेको उनले बताए ।