५२ दिनपछि बागमतीमा कांग्रेसलाई थप तीन मन्त्रालयको जिम्मेवारी

सोमबार, १ जेठ, २०८०
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ५२ दिनसम्म पूर्णता दिन नसकेको सरकारका मन्त्रीविहीन तीन मन्त्रालयको जिम्मेवारी सत्तासाझेदार दल कांग्रेसलाई दिएका छन्।

सोमबार मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामालाई थप तीनवटा मन्त्रालयको जिम्मेवारी दिएका हुन्। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

लामाले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्। प्रदेश प्रमुख शर्माको कार्यालयले सोमबार एक सूचना जारी गर्दै मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी दिएको जानकारी गराएका छन्।

११ वटा मन्त्रालय रहेको प्रदेशमा अहिलेसम्म ६ मन्त्रालयमा मात्रै मन्त्रीहरू नियुक्त भएका छन्। बाँकी ५ वटा मन्त्रालयको जिम्मेवारी स्वयं मुख्यमन्त्री जम्कट्टेलले सम्हाल्दै आएका थिए। मुख्यमन्त्री जम्कट्टेलले थप तीन मन्त्रालयको जिम्मेवारी आर्थिक मामिलामन्त्री लामालाई दिए पनि अझै दुई मन्त्रालय मन्त्रीविहीन छन्।

प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयमा मन्त्री नियुक्त हुन सकेका छैनन्। ती दुवै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्कट्टेलले नै सम्हालिरहेका छन्। सत्तागठबन्धनमा एकीकृत समाजवादी सहभागी भए पनि मन्त्रालय भने पाएको छैन। गठबन्धन दलहरूभित्रै मन्त्रालयको भागबन्डा नमिल्दा अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो।

सुझावित समाचार