अब्बल सामुदायिक विद्यालय, भर्नाका लागि तँछाडमछाड

सोमबार, १ जेठ, २०८०
डिजिटल संस्करण

निजी विद्यालयमा पढाउने प्रतिस्पर्धा चलिरहेका वेला पछिल्लो समय केही क्षेत्रका सामुदायिक विद्यालयले शैक्षिक गुणस्तरमा सुधार ल्याएका छन् । र, विद्यार्थीको रोजाइमा पर्न थालेका छन्। 

अभिभावक पनि आफ्ना छोराछोरीलाई निजी विद्यालयबाट सामुदायिकतर्फ लगिरहेका छन्– यसले संकेत गर्छ सामुदायिक विद्यालयको शैक्षिक सुधार। नयाँ पत्रिकाले माध्यमिक शिक्षामा अब्बल ठहरिएकामध्ये रुपन्देही, मकवानपुर र बाग्लुङका विद्यालयको वस्तुस्थिति प्रकाशन गरेको छ।

बुटवलका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप ह्वात्तै बढ्यो

माध्यमिक शिक्षामा अब्बल ठहरिएका बुटवलका केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप ह्वात्तै बढेको छ। नेपालकै नमुना विद्यालयका रूपमा कहलिएको कालिका मानवज्ञान मावि, नवीन औद्योगिक कदरबहादुर रीता मावि र कान्ति मावि सामुदायिकतर्फका बुटवलका अब्बल शिक्षण संस्था हुन्। रुपन्देही मणिग्रामको शान्ति नमुना मावि पनि अब्बलमध्येमा पर्छ। 

अंग्रेजी माध्यम, शिक्षण र शैक्षिक पद्धतिमा सुधार ल्याएपछि यी सामुदायिक विद्यालयमा भर्ना हुन निजी स्कुलका विद्यार्थीसमेत आउने गरेका छन्। नयाँ शैक्षिक सत्रमा भर्नाका लागि प्रवेश परीक्षा दिएकामध्ये कालिकामा एक हजार पाँच सय, शान्ति नमुनामा एक हजार दुई सय, नवीनमा एक हजार तथा कान्तिमा नौ सय विद्यार्थीले भर्ना पाएनन्। चाप बढी भएर थेग्न नसकेपछि फिर्ता पठाउन बाध्य भएको विद्यालय प्रशासनको भनाइ छ।

कालिकामा साढे सात हजार विद्यार्थी

नेपालकै नमुना विद्यालयमा गनिएको बुटवलको कालिका मानवज्ञान माविमा सात हजार ६ सय पाँच विद्यार्थी अध्यनरत छन्। तीन सय ३७ शिक्षक कर्मचारी रहेका कालिका र मानवज्ञान मावि मर्ज भएका थिए । दुई स्थानमा रहेका भवनमा पढाइ हुने हुँदा कालिकामा विद्यालयले धेरै विद्यार्थीलाई भर्ना गर्न सकेको हो । शैक्षिक गुणस्तरमा अब्बल बन्दै गएपछि कालिकामा विद्यार्थी चाप ह्वात्तै बढेको छ । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार यस वर्ष नयाँ भर्नाका लागि दुई हजार एक सय ७६ विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका थिए, तर ६ सय ५० जना मात्र भर्ना भएका छन्। 

यहाँ ७० जिल्लाका विद्यार्थी अध्यनरत छन् । यहाँ नयाँ भर्नाका लागि आउनेमा धेरैजसो निजी स्कुलका रहेको प्रअ थापाले बताए । 
थापा अब्बल शिक्षण संस्थाका रूपमा रहेको कालिकाको शैक्षिक गुणस्तरमा कम हुन नदिने गरी थप गुणस्तर वृद्धि र अब्बल बनाउने गरी विद्यालयले शैक्षिक गतिविधि अगाडि बढाउँदै आएको बताउँछन् । विगतमा पटक–पटक पुरस्कार प्राप्त गर्न सफल कालिकाको शैक्षिक गुणस्तरका कारण यहाँ विद्यार्थी भर्नाको चाप रहँदै आएको छ । विद्यालयको मुख्य आम्दानीमा सटरलाई भाडामा दिइएहेको छ। 

नवीनमा पनि आकर्षण बढ्दो

बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता माविमा चार हजार एक सय विद्यार्थी अध्यनरत छन् । चालू शैक्षिक सत्रमा पाँच सयजना विद्यार्थी भर्ना गर्ने लक्ष्य रहेकामा १५ सयले आवेदन दिए । कक्षा २ देखि ९ सम्म भर्नाका लागि प्रवेश परीक्षामा विद्यार्थी सहभागी भए । सहभागीमध्ये एक हजार विद्यार्थी यहाँ भर्ना गर्न सक्ने अवस्था रहेन । सबैभन्दा बढी ६, ८, ९ मा भर्नाका लागि विद्यार्थी आएपनि २ र ३ कक्षामा पनि भर्नाका लागि उत्तिकै चाप बढेको छ। 

भर्नाका लागि चाप निकै रहेको र विभिन्न क्षेत्रका व्यक्तिको दबाब आउने गरेका कारण फोन नै उठाउने अवस्था नरहेको प्रधाध्यापक प्रेमबहादुर बस्नेत बताउँछन । नवीनमा शिक्षाको गुणस्तरमा सुधार ल्याउन ०६० देखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गरिएको थियो। 

शिक्षामा गुणस्तर सुधारका लागि विद्यालयको स्रोतबाट एक सय २० जना शिक्षक कर्मचारी छन् । यहाँ सरकारी दरबन्दीका ४० शिक्षक कर्मचारी छन् । विद्यालयको आम्दानीका रूपमा व्यावसायिक सटर भाडा र अभिभावकको सहयोग मुख्य छ। 

नवीनमा ०६४ सालयताका नतिजा उत्कृष्ट रहँदै आएको छ । नवीनका प्रधानाध्यापक बस्नेत विद्यार्थीले थप शिक्षाका लागि विभिन्न क्षेत्रमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल रहँदै आएको बताउँछन् । नवीनमा कक्षा ९ देखि १२ कक्षासम्म इन्जिनियरिङ पढाइ हुन्छ । ०७८ कक्षा १२ को बोर्ड परीक्षामा सिभिल इन्जिनियरिङ, विज्ञान र व्यवस्थापन समूहबाट बुटवल उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा सर्वोत्कृष्ट भएर दुई लाख पुरस्कार प्राप्त गरेको थियो। 

विद्यालयले ब्रिटिस काउन्सिलद्वारा इन्टरनेसनल स्कुल अवार्ड २०१७–२०२० र २०२१–२०२४ प्राप्त गर्नुका साथै अंग्रेजी पत्रिका कलेज रिडर्सद्वारा दुबईमा उत्कृष्ट सामुदायिक विद्यालय २०२२ बाट सम्मानित भएको थियो । विद्यालयमा मन्टेस्वरीदेखि कक्षा १० सम्म पूर्ण अंग्रेजी माध्यममा कक्षा ११ र १२ विज्ञान, व्यवस्थापन, सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समूहमा अध्यापन हुँदै आएको छ।

कान्तिमा चाप

अब्बल विद्यालयमध्येमै पर्छ, बुटवलको कान्ति मावि । यहाँ पाँच हजार दुई सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयका शिक्षक दिलीप बेल्वासेका अनुसार यस वर्ष करिब ६ सय ५० जना विद्यार्थी नयाँ भर्ना गर्ने तयारीअनुसार भर्नाका काम भइरहेका छन्। 

एसइई दिएका तीन सय ७१ जना विद्यार्थी कम हुँदा सो संख्यामा नयाँ विद्यार्थीका अतिरिक्त केही नयाँ सेक्सन थप गर्ने तथा सुरुका कक्षामा गरी नयाँ विद्यार्थीको संख्या करिब ६ सय ५० पुग्ने भएको छ । पाँच हजार पाँच सय ५५ जनासम्म विद्यार्थी संख्या पु¥याउने गरी यहाँ भर्ना थालिएको छ। 

भर्नाका लागि विद्यार्थीको चाप निकै रहेको विद्यालयले जनाएको छ । भर्ना हुन आएका करिब नौ सयजना विद्यार्थीलाई फर्काउनुपरेको छ। यहाँ भर्नाका लागि पहिलो चरणमा एक हजार तीन सय ५० जनाले प्रवेश परिक्षा दिएका थिए। 

कान्तिको आम्दानीको स्रोतमा सटर भाडा मुख्य रहेको छ । कान्ति विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नुमा तालिम तथा अनुभवप्राप्त जनशक्तिको मिहिनेतलाई मुख्य कारण देख्छन् यहाँका शिक्षकहरू। यहाँ अध्यानरत उत्कृष्ट विद्यार्थीहरूले डाक्टर, इन्जिनियरिङ अध्यनमा नाम निकाल्न सफल हुँदै आएको विद्यालयले जनाएको छ।

शान्ति नमुनामा ५७ सय विद्यार्थी

बुटवल र भैरहवाको बीच भागमा रहेको मणिग्राममा छ, शान्ति नमुना मावि । शिक्षामा सुधारका लागि ०६७ देखि यहाँ शिक्षक अभिभावक लागिपरेका छन् । अहिले यहाँ पाँच हजार सात सय विद्यार्थी अध्यनरत छन् । यस वर्ष भर्नाका लागि यहाँ एक हजार आठ सय ३५ जनाले प्रवेश परीक्षा दिएकोमा ६ सय १८ जना भर्ना भएका छन् । एक हजार दुई सयभन्दा बढी बिद्यार्थीले पढ्न चाहेर पनि यहाँ भर्ना हुन सकेनन्।

शिक्षक कर्मचारी गरेर करिब दुई सयजना कार्यरत छन् । जसमा जम्मा ३३ जना दरबन्दीका छन्। विद्यालयको स्रोतमा जग्गा भाडा र सटर भाडा रहेको छ। 

विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछाने विद्यालयमा शैक्षिक सुधार गर्दै गुणस्तरीय शिक्षामा जोड दिइएपछि विद्यार्थी–अभिभावकको रोजाइको विद्यालय बन्न सफल भएको बताउँछन । हाल यहाँ २९ जिल्लाका बालबालिका अध्यनरत छन् । शान्ति नमुनामा बालबालिका पढाउने भन्दै विभिन्न जिल्लाका ६ सय अभिभावक विद्यालयआसपासमा कोठा भाडामा लिएर बस्ने गरेको प्रधानाध्यापक लामिछाने बताउँछन्। 

हेटौँडामा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

विद्यालयमा विद्यार्थी भर्ना अभियान चलिरहेका वेला बागमती प्रदेशको राजधानी हेटौँडाका सामुदायिक विद्यालयमा चाप बढेको छ । विगतमा संस्थागत विद्यालयमा आकर्षित हुने विद्यार्थी अहिले सामुदायिक विद्यालयतर्फ लागेका छन्।

हेटौँडाका सामुदायिक विद्यालय आधुनिक, भुटनदेवी, सिद्धार्थ, प्रगति, जनप्रिय, बालज्योति, चन्द्रोदय माविमा विद्यार्थीको आकर्षण बढेकोे छ । हेटौँडा उपमहानगरपालिका– २ मा रहेको सिद्धार्थ माविमा २२ सय विद्यार्थी क्षमता छ । प्रवेश परीक्षा सञ्चालन गरेर विद्यार्थी छनोट गरिएको छ । तर, अभिभावक र विद्यार्थीको दबाबका कारण केही सिट संख्या थपेर भए पनि पुनः एकपटक प्रवेश परीक्षा लिने तयारी भइरहेको विद्यालयका अंग्रेजी माध्यम संयोजक गणेश हुमागाईंले जानकारी दिए। 

संयोजक हुमागाईंले सिद्धार्थमा अहिले नेपाली र अंग्रेजी माध्यम गरी अध्यापन भइरहेको बताए । ‘अभिभावकको मागअनुसार नर्सरीदेखि कक्षा १० सम्मै अंग्रेजी र नेपाली माध्यमबाट छुट्टाछुट्टै कक्षा सञ्चालन हुन्छ,’ उनले भने । हुमागाईंले विद्यालयमा भर्ना हुन आउने अधिकांश विद्यार्थी संस्थागत विद्यालयबाट आउने गरेको पनि बताए।

हेटौँडाकै सबैभन्दा पुरानो विद्यालय भुटनदेवी प्राविधिक शिक्षालयमा पनि विद्यार्थीको चाप बढेको छ । विद्यालयका सहायक प्रधानाध्यापक भरत पोखरेलले नयाँ शैक्षिक सत्रका लागि सबै कक्षामा गरी तीन सय ५० जना विद्यार्थी भर्ना गर्नुपर्ने भए पनि झन्डै एक हजारभन्दा बढी विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाएको जानकारी दिए । विद्यालयको क्षमता दुई हजार विद्यार्थीको रहेको छ।

लामो समयदेखि एसइईमा सामुदायिकतर्फ मकवानपुरमा प्रथम स्थान हासिल गर्दै आएको हेटौँडा– ४ मा रहेको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा पनि विद्यार्थीको चाप बढेको छ । यहाँ पनि प्रवेश परीक्षा सञ्चालन भएको छ । तीन सयसम्म विद्यार्थी भर्ना गर्न सकिने अवस्था रहेको यस विद्यालयमा एक हजारभन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा दिएको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका परीक्षा शाखा प्रमुख कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
 
हेटौँडा– ५ मा रहेको बालज्योति माध्यमिक विद्यालयमा दिवा खाजासहितको मन्टेस्वरी कक्षाको व्यवस्थाले विद्यार्थीको आकर्षण बढेको छ । हेटौँडा– ९ मा रहेको प्रगति माविमा पनि भौतिक संरचना, शैक्षिक गुणस्तरमा सुधार हुँदै गएपछि स्थानीयसँगै जिल्लाबाहिरबाट समेत विद्यार्थी भर्नाका लागि आउन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीले बताए।

अभिभावकको रोजाइमा सामुदायिक विद्यालय

सामुदायिक विद्यालय अभिभावकको रोजाइमा पर्न थालेका छन्। सुविधासम्पन्न भौतिक संरचना, पढाइमा प्रतिस्पर्धाको भावना, पढाउने नयाँ प्रविधिको विकास, सीपयुक्त जनशक्ति र निःशुल्क शिक्षाका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको हो।

भुटनदेवी प्राविधिक विद्यालयका सहायक प्रधानाध्यापक भरत पोखरेल सामुदायिक विद्यालयमा भएको निःशुल्क शिक्षा र वृद्धि हुँदै गइरहेको गुणस्तरीय शिक्षा, एसइईमा सामुदायिक विद्यालयको राम्रो नतिजाका कारण अभिभावक र विद्यार्थीको अकर्षण बढेको बताउँछन्। 

आधुनिक स्कुलका प्रधानाध्यापक रामसागर गुरागाईंले निःशुल्क शिक्षासँगै विद्यालयहरूको नयाँ भौतिक संरचना र कक्षा ६ देखि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि उच्च शिक्षामा सरकारले उपलब्ध गराउने छात्रवृत्ति पनि एक भएको बताए। 

उनका अनुसार अहिले कक्षा ६ देखि कक्षा ९ सम्म भर्ना हुन चाहने विद्यार्थीको संख्या सबैभन्दा बढी छ । उनले आधुनिक स्कुलमा कक्षा ६ मा सबैभन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा दिएको जानकारी दिए।

सिद्धार्थ माविका अंग्रेजी माध्यमका संयोजक गणेश हुमागाईंले सर्वसुलभ रूपमा सामुदायिक विद्यालयमा पनि संस्थागत विद्यालयजस्तै अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा पाउन थालेपछि आभिभावकको आकर्षण बढेको हुन सक्ने बताए । उनले सिद्धार्थ स्कुलमा कक्षा नर्सरीदेखि नै पर्याप्त विद्यार्थी भर्ना भएको जानकारी दिए । भुटनदेवी स्कुलमा पनि सरस्वतीपूजाकै समयमा कक्षा नर्सरी र इसिडी कक्षाको  सिट संख्या भरिएको सहप्रधानाध्यापक पोखरेलले बताए।

जनप्रतिनिधि र शिक्षक कर्मचारीका छोराछोरी सामुदायिकमा

जनप्रतिनिधि र शिक्षक कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढ्न थालेका छन् । आधुनिक विद्यालयका अधिकांश शिक्षकका छोराछोरी सामुदायिकमै रहेकोे प्रधानाध्यापक गुरागाईंले दाबी गरे । ‘हाम्रो विद्यालयका शिक्षकका छोराछोरी मात्र होइन, जनप्रतिनिधिका छोराछोरी पनि अध्ययन गर्छन् । संस्थागत विद्यालयमा पढाउने गरेका शिक्षक–शिक्षिकालाई आफ्ना छोराछोरी आफ्नै विद्यालयमा पढाउन भनेका छौँ,’ उनले भने, ‘तर अनिवार्य भने गरेका छैनौँ।’

प्रधानाध्यापक गुरागाईंका अनुसार जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलानका छोरा कक्षा ७ मा अध्ययनरत छन् भने हेटौँडा– ११ की वडाध्यक्ष जुना दाहालले आफ्नो छोरीलाई आधुनिकमै भर्ना गराएकी छिन् । वडा नम्बर १५ का वडाध्यक्ष सुनील मोक्तानका छोराले भर्खरै आधुनिक स्कुलबाटै एसइई दिएको प्रधानाध्यापक गुरागाईंले जानकारी दिए। 

आधुनिकमा जस्तै भुटनदेवी स्कुलमा अध्यापन गर्ने अधिकांश शिक्षक–शिक्षिकाले पनि आफ्ना विद्यालय पढ्ने उमेरका छोराछोरीलाई आफ्नै विद्यालयमा पढाउन थालेको सहायक प्रधानाध्यापक पोखरेलले दाबी गरे । उनले शिक्षक–शिक्षिकाले पनि आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउन थालेपछि सामुदायिक विद्यालयप्रति अभिभावकहरूको विश्वास बढेको बताए।

सहरियाको रोजाइमा गाउँको विद्यालय

गणेश माध्यमिक विद्यालय गाउँमा छ, तर रोजाइ सहरियाको । बाग्लुङ नगरपालिका– १४ नारायणस्थानमा रहेको गणेशमा पढ्न विद्यार्थीहरू गलकोट, बरेङ, जैमिनीलगायतका स्थानबाट आउँछन् । उनीहरू विद्यालयको होस्टेल, आफन्तको घर र गाउँमा कोठाभाडामा लिएर बस्ने–पढ्नेको संख्या पनि रहेको प्रधानाध्यापक एकनाथ रिजाल बताउँछन् । सुलभ शुल्कमा सञ्चालित विद्यालयको होस्टेलमा दिवा र रात्रि गरी अहिले ६० जना विद्यार्थी छन्।

विद्यार्थीमैत्री शिक्षण सिकाइ, अंग्रेजी माध्यममा पढाइ, कम्प्युटर कक्षा, विविध सिर्जनात्मक शैली र अभ्याससहित पठनपाठन, सुविधासम्पन्न पुस्तकालय अतिरिक्त कक्षा तथा क्रियाकलाप र चुस्त व्यवस्थापनका कारण गणेश मावि नमुना विद्यालयको रूपमा स्थापित छ । त्यसबाहेक बाग्लुङ, पर्वत, म्याग्दी, कास्की, चितवन, बुटवलसँगै सुदूरपश्चिमको अछाम घर भएका विद्यार्थी अध्ययनरत छन् । यस विद्यालयमा झन्डै एक सयको हाराहारीमा विद्यार्थी अन्यत्रबाट अध्ययनका लागि आउने गरेको विद्यालयका प्रधानाध्यापक रिजाल बताउँछन्। 

उनका अनुसार पर्वतको कुश्माबाट मासिक रूपमा यान्त्रिक पुलमा मात्र दुई हजारको हाराहारीमा भाडा तिरेर विद्यार्थी यहाँ पढ्न आउँछन् । ‘आधा घन्टाको दूरीमा पैदल हिँडेर विद्यार्थी पढ्न आउँछन्,’ उनले भने । विद्यालयले छिमेकी पालिका र वडाका विद्यार्थीका लागि बस सेवा पनि दिन्छ। 

०३७ मा स्थापना भएको यो विद्यालयमा ०६५ देखि अंग्रेजी माध्यम र कक्षा ४ देखि १० सम्म कम्प्युटरका कक्षा सञ्चालनमा छ । हाल सात सय ७८ जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीलाई प्रविधिको प्रयोग गरी स्मार्ट टिभी र ल्यापटपबाट अध्यापन गराइन्छ। 

विद्यालयमा भर्ना अभियान सञ्चालन भएसँगै यस वर्ष मात्र ४० जना विद्यार्थी थप भएको विद्यालयका प्रध्यानाध्यापक रिजालले बताए। 
 

सुझावित समाचार