कांग्रेसकी सांसद आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई जोडेर चरित्र हत्या गरिएको बताएकी छिन्।
सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा फेक अडियो बनाएर आफ्नो चरित्र हत्या गरिएको बताएकी हुन्।
उनले सो अडियो छानबिन गरेर सत्यतथ्य पत्ता लगाउन प्रहरीमा निवेदन दिएको भए पनि हालसम्म छानबिन नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
उनले महिलाहरूलाई राजनीतिमा आउँदा अनेकौँ कुरा व्यहोर्नुपर्ने उल्लेख गर्दै यस्तो व्यवहार अन्य महिलाहरूप्रति नगर्न आग्रह पनि गरिन्। सांसद राणाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको टेपको सत्यतथ्य उजागर गर्न माग गरिन्।
उनले भनिन्, ‘आज म यहाँ उपस्थित भएको त सबैले देखिरहनुभएकै होला । म फिजिकल फर्ममा यहाँ छु । र, म यसपटक के पनि भन्न चाहन्छु भने हाम्रो देशमा फेक न्युज र फेक मिडियाको एउटा पराकाष्ठा पुगिसकेको रहेछ । म त्यति सोसल मिडियामा एक्टिभ छैन । तर, यो देख्दाचाहिँ मलाई के लाग्यो भने हाम्रो देशमा हुने फेक मिडियामाथि कुनै न कुनै किसिमले सरकारको सुपरभिजन हुनुपर्याे । मैले ६ दिन अगाडि फेक अडियो मेरो नाम लिएर बनाइएको भुटानी शरणार्थी प्रक्रियामा संलग्न भनेर बनाइएको फेक अडियो मैले फरेन्सिक टेस्टका लागि सिबिआई र साइबर क्राइम सेलमा दिएकी थिएँ । दर्ता गर्न पनि मानिएको थिएन । यहाँ साथीहरूले विश्वास गर्नुहुन्न होला । सत्ता पक्षको यत्रो ठूलो नेताको श्रीमती भनेर । तीन घन्टा लाग्यो त्यो दर्ता गराउन । त्यसको जवाफ म गृह मन्त्रालयबाट चाहन्छु । अलमल किन थियो दर्ता गर्न ? ६ दिन हुँदा पनि यो फेक हो कि होइन ? भनेर किन बताउन सकेको छैन ? अरूजस्तै म त झनै आतुर छु, फेक अडियो मेरो मात्रै बनेको होइन । अरूअरूको पनि बनेको छ । तर, नाम मेरो मात्रै उच्चारण किन हुन्छ ? म साँच्चै भन्ने हो भने एज अ वुमन यो एउटा क्यारेक्ट असानीसेसन होइन । दिस इज अ रेप अफ माई क्यारेक्टर । र, म यो एकदम कडाइका साथ भन्छु महिलालाई राजनीतिमा आउँदाखेरि सबै कुरा हामीले व्यहोर्न सक्नुपर्छ । म व्यहोरिरहेकी छु । तर, यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस् यो देशमा । योभन्दा अगाडि पनि धेरै महिलालाई आत्महत्या गर्न फोर्स गरेको छ मिडियाले । सरकारले यो टेपको सत्यतथ्य उजागर गरोस् । र, अरू जसको नाम आएको छ को दोषी हो को होइन प्रस्ट आउनुपर्छ ।’