कवि देवव्रतको कवितासंग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ सार्वजनिक भएको छ। शनिबार काठमाडौंको सर्वनाम थियटरमा एक कार्यक्रमबीच कवितासंग्रह विमोचन गरिएको हो।
कवितामा समाजका विकृति र विसंगतिलाई विषय बनाएका कवि देवव्रतको यो पहिलो कवितासंग्रह हो। यस संग्रहमा ३८ कविता छन्।
विमोचन कार्यक्रमका प्रमुख अतिथि कवि तथा गीतकार श्रवण मुकारुङले देवव्रतका कविताले उनलाई नवकवि मात्र बन्न नदिएको धारणा राखे। ‘देवव्रत नयाँ कवि होइनन्। उनी निखारिएका कवि हुन् जस्तो लाग्यो,’ विमोचनका क्रममा कवि मुकारुङले भने। विमोचनमा कविहरू दीपक सापकोटा र वन्दना ढकालले कविताको समीक्षा गरेका थिए।
‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ शीर्षककै कविताबाट कृति शीर्षक जुराइएको यो संग्रहमा ‘आमा तिमी मुर्ख हौ,’ ‘आगमन’, ‘ऊ’, ‘एकदिन’, ‘किङकोब्रा’, ‘कोठा’, ‘के छ ?’ ‘तिमी गएपछि’, ‘सहर’, ‘नक्कली किसान’, ‘पृथ्वी’, ‘कर्णाली’ शीर्षकका कविता समावेश छन्।