दुर्गमका महिला : श्रीमान् बितेपछि जीविकोपार्जनमा झनै समस्या

शनिबार, ३० बैशाख, २०८०
डिजिटल संस्करण

जुम्लाको तिला गाउँपालिका– ३ थापागाउँकी ३५ वर्षीया डिल्लीसरा थापा एकल महिला हुन्। १० वर्षअघि सवारी दुर्घटनामा श्रीमान् लालबहादुर थापाको मृत्यु भयो।

किशोरास्थामै विवाह गरेकी डिल्लीसरा २५ वर्षकै उमेरमा एकल महिला भइन्। उनका दुई छोरा र एक छोरी छन्। श्रीमानको निधनपछि छोराछोरीको स्वास्थ्य–शिक्षादेखि पालनपोषणको जिम्मेवारी उनको काँधमा आयो।

सरकारले आधारभूत स्वास्थ्य र शिक्षा निःशुल्क त भनेको छ तर आफूले मजदुरी गरेर कमाएको पैसा छोराछोरी पढाउन र उपचार गर्न पनि नपुग्ने गरेको उनी बताउँछिन्।

जेठो छोरा १० कक्षा, माइली छोरी ८ कक्षा र कान्छा छोरा ६ कक्षामा सामुदायिक विद्यालयमा पढ्छन्। ‘जेठो छोरा अर्काे वर्षदेखि कक्षा ११ मा जान्छ। नजिकै उच्च मावि छैन, कसरी पढाउने होला?’ उनी दुःखेसो पोख्छिन्।

उनको पाखो जग्गामा गहुँ, कोदो, आलु उत्पादन त हुन्छ, तर ४/५ महिना मात्रै खान पुग्छ। त्यसबाहेक मजदुरी गरेर किनेर खाने गरेको उनले सुनाइन्। ‘ज्यालामजदुरी गर्दा पनि समान कामको समान ज्याला पाइँदैन। पुरुषलाई दिनको एक हजार रुपैयाँ दिन्छन् भने महिलालाई पाँच सय,’ उनले भनिन्।

समाजमा एकल महिलाले बाँच्न निकै गाह्रो हुने गरेको डिल्लीसराले गुनासो गरिन्। श्रीमानले सवारी दुर्घटनामा ज्यान गुमाएको क्षतिपूर्ति उनले पाँच लाखबराबरको जग्गा पाइन्। ‘पैसा दिएको दिए छोराछोरीको पढाइमा सहज हुने थियो। जग्गा पाइएको छ। त्यो पनि नलिऊँ भने नहुने,’ उनले बताइन्, ‘जग्गा अहिले बिक्री पनि हुँदैन। एकल महिलालाई जीवन गुजार्न निकै सकस छ।’

तिला गाउँपालिका– ३ की ४० वर्षीया एकल महिला माया बुढाको जीवन संघर्षका कथा पनि उस्तै छ। ०५९ कात्तिक २८ गते द्वन्द्वकालमा तत्कालीन माओवादी र राज्यपक्षको दोहोरो भिडन्तमा घाइते भएका श्रीमान् विष्णुबहादुर बुढाको निधन भयो।

२० वर्षको सानै उमेरमा एकल महिला हुनुपर्यो। अहिले श्रीमानको निधन भएको २० वर्ष भयो। त्यो वेलादेखि संघर्षमै जीवन गुज्रिएको छ। एक छोरा एक छोरी छन्। दुवै बच्चा उच्च शिक्षा अध्ययन गर्दै छन्। अहिलेको शिक्षा निकै महँगो छ। स्वास्थ्य शिक्षा, पोलनपोषण पनि महँगो नै भएकाले जीविकोपार्जन गर्न निकै मुस्किल हुने गरेको उनले सुनाइन्। ‘खेती गरेको अन्नपातले वर्ष दिन पुग्दैन। ४-५ महिना मात्रै पुग्छ। बाँकी महिना ज्यालामजदुरी गरेरै जीविकोपार्जन गरेको छु,’ उनले भनिन्।

ज्यालामजदुरी गरेको पैसाले खानपिन गर्नु कि बालबच्चाको स्वास्थ्य शिक्षामा खर्च गर्नु। उनलाई खर्च धानै मुस्किल पर्ने गरेको छ। संघर्षपूर्ण जीवन बिताउनुको विकल्प नरहेको उनले बताइन्।

पातारासी गाउँपालिका– ५ लोर्पकी २७ वर्षीया धर्मकली बुढा पनि एकल महिला हुन्। उनका श्रीमानको पाँच वर्षअघि निधन भयो। उनकी ११ वर्षकी छोरी छ। सानै उमेरमा विवाह गरेकी धर्मकलीको उमेर पुगेर परिपक्क हुने वेलामा श्रीमानको निधन भयो। अहिले उनी गैरसरकारी संस्था किर्डाक नेपालको सहयोगमा पातारासी गाउँपालिकाको मुकाम लासी बजारमा कपडा सिलाउने काम गर्दै आएकी छिन्। त्यही सीपले रोजीरोटी चलाउँदै आएकी छिन्।

तातोपानी गाउँपालिका–६ हियाखोलाकी ६० वर्षीया विष्णुदेवी रोकायाले द्वन्द्वकालमा छोरा गुमाइन्। ०५८ मा १८ वर्षको छोरा छक्क रोकायाको निधन भयो। छक्क माओवादीले चलाएको तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा भूमिगत थिए। त्यतिवेलाको समयमा बम विस्फोट भएर उनले ज्यान गुमाएका थिए।

अस्पतालको सुविधा नभएकै कारण ०५३-५४ तिर दुःख गरेर हुर्काइसकेका एक छोरा र एक छोरी बिरामी हुँदा राम्रो उपचार नपाएरै गुमाउनुपरेको पीडा उनी सुनाउँछिन्। उनीहरूको मृत्युले पारेको पीडा नसकिँदै द्वन्द्वकालमा छोरा छक्कलाई गुमाउनुपर्यो। छोराको पीडा नसकिँदै २०६६ सालमा श्रीमान् नरबहादुर रोकायाको पनि निधन भयो।

१५/१६ वर्षदेखि एकल जीवन बिताइरहेको उनले बताइन्। ‘घरमा अर्काे दोस्रो कोही पनि छैन। अब त बुढेसकाल पनि लाग्यो। खेतीपाती, ज्यालामजदुरी गरी खान सकिने अवस्था पनि छैन,’ उनले भनिन्, ‘खेतीपाती गर्ने मान्छे नभएपछि जग्गाजमिन भएर पनि के गर्नु?’ त्यसैले छोराको सम्झनामा तातोपानी गाउँपालिकालाई अस्पताल बनाउन उनले जग्गादान गरेकी छिन्। रोकायाले श्रीमान् नरबहादुर र छोरा छक्कबहादुरको सम्झनामा स्थानीय सरकारलाई पाँच बेडको अस्पताल निर्माणका लागि जग्गादान गरेकी हुन्।

तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाका अनुसार यहाँ २०८ एकल महिला छन्। एकल महिलाको वडास्तरमा समूह बनाउने र आयआर्जनका क्रियाकलाप सञ्चालन गर्ने योजना रहेको उनले सुनाइन्।

एकल महिलालाई पहिलोपटक राहतस्वरूप गाउँपालिकाबाट कम्बल विवरण गरेको उनले बताइन्। ‘एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्ता पनि समयमै वितरण गर्ने गरेका छौँ,’ उनले भनिन्। आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा एकल महिलाका कार्यक्रम समावेश गर्नका लागि वडा तथा गाउँबस्ती पुगेर माग संकलन गरिएको उपाध्यक्ष बुढाको भनाइ छ।

एकल महिलाले निकै संघर्षपूर्ण जीवन बिताउनुपरेको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताइन्। ‘राज्यले एकल महिलाका लागि सामाजिक सुरक्षा भत्ताको त व्यवस्था गरेको छ। तर, त्यो रकम जीविकोपार्जनका लागि पर्याप्त होइन। यसले गर्दा पालिकाबाट पनि उनीहरूको जीविकोपार्जनमा टेवा पुर्याउनका लागि रकम विनियोजन गरेका छौँ,’ उनले भनिन्।

एकल महिलालाई समूह सहकारीमा आबद्ध गरेर उनीहरूको आयआर्जनका लागि सीपमूलक तालिम, बिउ पुँजी, व्यवसायमा सहयोग पुग्ने किसिमका काम गर्ने योजना बनाएको उनले बताइन्। पातारासी गाउँपालिकामा २९५ एकल महिला रहेका छन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्लाको कुल जनसंख्या १ लाख १८ हजार ३४९ मध्ये १ हजार ४०५ जना अर्थात् ५.७ प्रतिशत एकल महिला छन्। यस्तै, ५९२ जना अर्थात् २.४ प्रतिशत एकल पुरुष छन्।

सुझावित समाचार